२८ प्रतिष्ठानमा न्यूनतम पारिश्रमिक र एसएसएफ लागू गर्न निर्देशन

Share this
672shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ९, बुधबार १०:२७

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रले मङ्सिर ८ गते २८ वटा प्रतिष्ठानमा अनुगमन गरेको छ । पोखरा, नेपालगन्ज, बुटवल र धनुषास्थित श्रम तथा रोजगार कार्यालयका टोलीले गरेको उक्त निरीक्षणमा रोजगार सम्झौता, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा कोष (एसएसएफ) आबद्धता र श्रम अडिटलगायतका विषय समेटिएका थिए ।

अनुगमन गरिएका २४ प्रतिष्ठानका ३०० कर्मचारीमध्ये २६५ जना अर्थात् करिब ८८ प्रतिशत एसएसएफमा आबद्ध नभएको पाइएको छ । यसमा काठमाडौंका १२ प्रतिष्ठानका १७४, पोखराका ६ प्रतिष्ठानका ४६, बुटवलका ४ प्रतिष्ठानका ३२ र नेपालगन्जका २ होटेलका १३ कर्मचारी रहेका छन् । त्यस्तै, ७ प्रतिष्ठानका ३२ कर्मचारीसँग रोजगार सम्झौता वा नियुक्ति पत्र नभएको भेटिएको छ ।

न्यूनतम पारिश्रमिकको हकमा पोखराका ६ प्रतिष्ठान, नेपालगन्जका २ र बुटवलका २ होटेलका गरी ६७ कर्मचारी प्रभावित पाइएका छन् । पोखराका ६ प्रतिष्ठानमा कार्यरत ४६ कर्मचारीका लागि ओभर टाइम र बिदाको व्यवस्थासमेत श्रम ऐनअनुसार नरहेको पाइएको छ ।

श्रम अडिट पेस नगर्नेमा काठमाडौंका ३, पोखराका ६, नेपालगन्जका ३ र धनुषाको १ प्रतिष्ठान रहेका छन् । निरीक्षण टोलीले सम्बन्धित प्रतिष्ठानहरूलाई श्रम ऐनअनुसार रोजगार सम्झौता गर्न, न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न, सबै श्रमिकलाई एसएसएफमा जोड्न र तोकिएको समयमै विवरण बुझाउन कडा निर्देशन दिएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.