
झापा । झापाको कनकाई नगरपालिका–१ दुर्गापुर चोक नजिक ट्रक र ईभी कार एकआपसमा ठोक्किँदा दुई प्रहरीसहित चार जना घाइते भएका छन् । घाइतेमध्ये नेपाल प्रहरीका वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक)को अवस्था गम्भीर छ ।
पूर्व–पश्चिम सडकखण्डमा शनिबार राति करिब ८ बजेतिर दुर्घटना हुँदा कार चालक विराटनगर घर भएका वरिष्ठ सई राधाकृष्ण दाहाल गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय अनारमनी दरबन्दी भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत दाहालको दुवै खुट्टाको घुँडामा चोट लागेको छ भने नाकबाट रगत आएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कारमा सवार अर्का सई विराटनगर नै घर भएका सुवास केसी पनि घाइते भएका छन् । पाँचथरको इलाका प्रहरी कार्यालय रविमा दरबन्दी भएका केसी जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत छन् । निधार र दाहिने हातमा चोट लागेका उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको बा ११ ख ३८४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा प्र–०१–०३२ च ३६१९ नम्बरको ईभी कार कनकाई–१ दुर्गापुर चोक नजिक एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा ट्रकमा सवार दुई सहचालकसमेत घाइते भएका छन् । सुनसरीको रामधुनी नगरपालिका–५ का २० वर्षीय अश्विन श्रेष्ठ र २६ वर्षीय सुजन श्रेष्ठको हातखुट्टामा चोट लागेको छ । दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । चारै जना घाइतेको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । ट्रक चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१६ निवासी ३३ वर्षीय झकेन्द्र श्रेष्ठलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ ।
सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























