
विराटनगर । झापाको कनकाई नगरपालिका–१ दुर्गापुरमा ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने स्कुटर चालक अर्की महिला घाइते भएकी छन् ।
पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ भएको दुर्घटनामा दमक नगरपालिका–१२ की ३४ वर्षीया अम्बिका लावतीको मृत्यु भएको हो । दुर्घटनामा कमल गाउँपालिका–५ की ४५ वर्षीया अमृता थापा मगर घाइते भएकी छन् ।
प्रहरीका अनुसार दुर्गापुरस्थित सहिद गेटअगाडि साँझ करिब ५ः४५ बजेतिर लक्ष्मीपुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४८०० नम्बरको ट्रकले सोही दिशामा गइरहेको कोशी प्रदेश ०१–०२० प ९८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट दुवै महिला घाइते भएका थिए ।
अम्बिकाको टाउको, कम्मर र दाहिने हातमा चोट लागेको थियो । नाकबाट समेत रगत बगेको अवस्थामा उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्याइएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घाइते अमृताको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनको बी एण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले ट्रक, स्कुटर र ट्रक चालक इलाम नगरपालिका–१० का ३६ वर्षीय छविकुमार मगरलाई नियन्त्रणमा लिएको छ । ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गामा तथा स्कुटरलाई अस्थायी प्रहरी बिट दुर्गापुरमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























