बुढीगण्डकीमा बाढीको वितण्डा : ३५ घर बगे, पुलहरू ध्वस्त

Share this
763shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार ०७:५७

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्चेत क्षेत्रमा सुक्खा पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि आएको भीषण बाढीले तटीय बस्तीमा ठूलो क्षति पुर्‍याएको छ ।

बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ भने विभिन्न स्थानका पुल, बजार र बस्तीमा समेत क्षति पुगेको छ । नदी थुनिने र खुल्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ ।

आइतबार बिहानै नदीमा आएको लेदो, गेग्रान र ठूला ढुंगासहितको बाढीले चुमनुब्री गाउँपालिकाका विभिन्न बस्ती प्रभावित भएका हुन् । बाढीले सोती बजारमा रहेको पुल, दोभानको बेलिब्रिज, केरौंजा जाने झोलुंगे पुल तथा न्याक्चेत र फिलिम बजार जोड्ने पुलसमेत बगाएको जानकारी प्राप्त भएको छ । घट्टेखोला क्षेत्रमा घरभित्र लेदोसहितको पानी पसेको छ भने जगत्, सल्लेरी र माछीखोला बजारमा व्यापक क्षति पुगेको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा बिहान करिब ४ बजेतिर ठूलो आवाजसहित बाढी आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताएका छन् । उनका अनुसार लोक्पा क्षेत्रमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि पानी एकाएक ठूलो परिमाणमा बग्न थालेको हो । पहिरोले करिब १५० मिटर माथिसम्मको क्षेत्र ढाकेको र अझै पहिरो खसिरहेको जानकारी उनले दिए ।

‘नदी थुनिने र खुल्ने क्रम जारी छ । दुई–तीन पटक ठूलो बाढी आइसकेको छ । ठूला ढुंगा पल्टाउँदै पानी बगिरहेको छ । तटीय क्षेत्रका मानिसहरू डराएर सुरक्षित स्थानमा बसेका छन्,’ सापकोटाले बताएका छन् । उनका अनुसार जगत् क्षेत्रको तल्लो भागका घरहरू बगाएको खबर आएको छ ।

सल्लेरीलगायत तल्लो क्षेत्रको क्षतिको पूर्ण विवरण भने प्राप्त भइसकेको छैन । बाढीको बहाव र पहिरो खस्ने क्रम नरोकिएकाले प्रभावित क्षेत्रको अवस्था बुझ्नसमेत कठिनाइ भइरहेको छ ।

बाढीको जोखिम बढेपछि स्थानीय प्रशासन, प्रहरी र सुरक्षाकर्मीले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछीखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन भनिएको छ ।

प्रहरीका अनुसार आइतबार बिहान ५ः३० बजे नदी पहिरोका कारण थुनिएको सूचना प्राप्त भएको थियो । त्यसलगत्तै प्रहरी चौकी सिर्दिबास र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । नदी थुनिएपछि तटीय क्षेत्रमा रहेका प्रहरी युनिट र स्थानीय बासिन्दालाई सचेत गराइएको थियो । बिहान ६ः१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि बाढीको जोखिम बढेको प्रहरीले जनाएको छ ।

बाढी बिहान करिब ७ः३० बजेतिर सोती बजार पुगेको थियो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार बाढीले सोती बजारमा रहेको पुल र केही टहरा बगाएको छ । धार्चे गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले दोभानको पुल, केरौंजा जाने पुल र केही बस्तीका घरहरू बगाएको जानकारी दिएकी छन् ।

यसैगरी, चुमनुब्री गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार पैयू र बगर गाउँका ३५ घर बाढीले बगाएको छ । दोभान, घट्टेखोला, जगत् र सल्लेरीमा पनि ठूलो क्षति पुगेको छ । बिहानै बाढी बस्तीमा पसेपछि स्थानीय बासिन्दा ज्यान जोगाउन सुरक्षित स्थानतर्फ लागेका थिए ।

बाढीको जोखिम चुमनुब्री गाउँपालिकामा मात्र सीमित नरहने आकलन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढीगण्डकीको तल्लो तटीय क्षेत्र आरुघाटसम्म क्षति पुग्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार सिर्दिबास, जगत्, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत र आरुघाटसम्म बाढीको जोखिम छ । यी क्षेत्रका बासिन्दालाई नदी किनारबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले पनि तटीय क्षेत्रका बासिन्दालाई एसएमएसमार्फत सचेत गराएको छ । महाशाखाका बाढीविज्ञ विनोद पराजुलीका अनुसार बाढी आरुघाटसम्म आइपुग्न करिब तीन घण्टा लाग्ने अनुमान गरिएको थियो । सोही आधारमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन सन्देश पठाइएको उनले बताएका छन् ।

बाढीको कारणबारे प्रारम्भिक अनुमान गरिए पनि घटनाको पूर्ण विवरण खुलिसकेको छैन । चुमनुब्री गाउँपालिका–६ को चुम्चेत क्षेत्रबाट स्थानीय खोला हुँदै बुढीगण्डकीमा बाढी मिसिएको बताइएको छ । माथिल्लो क्षेत्रमा वर्षा भएको अभिलेख नरहेको अवस्थामा पहिरोले नदीको बहाव रोकेको र पछि थुनिएको पानी एकाएक खुलेर बाढी आएको हुन सक्ने विपद् प्राधिकरणको प्रारम्भिक आकलन छ ।

बाढीले ठूलो क्षति पुर्‍याएपछि उद्धार तथा राहतका लागि हेलिकप्टर परिचालन गरिएको छ । गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय प्रशासनलाई उद्धार, राहत तथा जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएका छन् । प्रभावित क्षेत्रमा हेलिकप्टर परिचालन भइसकेको जानकारी दिँदै उनले नदी किनारका बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरे ।

नदीमा पानीको बहाव घट्ने र पुनः बढ्ने क्रम जारी रहेको स्थानीयको भनाइ छ । बाढीले ठूला ढुंगा बगाउँदै बस्ती तथा पुलमा क्षति पुर्‍याइरहेकाले सुरक्षाकर्मीसमेत सतर्क अवस्थामा छन् । तत्कालीन अवस्थामा तटीय बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा राख्नु र बाढीको बहाव निरन्तर निगरानी गर्नु चुनौतीपूर्ण बनेको छ ।

बुढीगण्डकीमा आएको आकस्मिक बाढीले पुर्‍याएको मानवीय तथा भौतिक संरचना क्षतिको पूर्ण विवरण भने प्राप्त हुन बाँकी छ । नदीको बहाव र पहिरोको अवस्था यकिन नभएसम्म चुमनुब्रीदेखि धार्चे हुँदै आरुघाटसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

तपाइको प्रतिक्रिया
कोशीको नाम फेर्न एकतिहाइले प्रस्ताव ल्याउन सक्ने, समर्थन दुईतिहाइको चाहिने
बुढीगण्डकीमा बाढीको वितण्डा : ३५ घर बगे, पुलहरू ध्वस्त
तरकारीको आडमा गाँजा तस्करी : मोरङमा ५७० किलो बरामद, पिकअप छाडेर चालक फरार
विराटनगरबाट शव बोकेर भोजपुर जाँदै गरेको एम्बुलेन्स धनकुटामा दुर्घटना, चालक गम्भीर
झापामा टिफरको ठक्करबाट साइकल यात्रीको मृत्यु 
झापामा ट्रक र ईभी कार ठोक्किँदा दुई प्रहरीसहित चार जना घाइते, वरिष्ठ सईको अवस्था गम्भीर
लिग–२ को अन्तिम शृङ्खला : नेपालले क्यानडासँग खेल्दै
बुढीगण्डकीको भीषण बाढीले सल्लेरी बजार बगायो
कोशीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना
पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा मौसम खुल्ने
ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु, अर्की महिला घाइते
घटस्थापनासँगै दसैँको उल्लास सुरु, घरघरमा जमरा राखिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×