बाढीपछि १० जना सम्पर्कविहीन

Share this
665shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार १०:५८

गोरखा । चुमनुब्री गाउँपालिका-६ स्थित उङ्गिलुङ खोलामा आएको बाढीका कारण कम्तीमा १० जना सम्पर्कविहीन भएका छन् । आज (आइतबार) बिहान आएको बाढीले उङ्गिलुङ गोठमा बस्ने पाँच जना र धाउनेका तीन घरका पाँच जना सम्पर्कविहीन भएको स्थानीय दिपेश लामाले जानकारी दिए ।

लामाका अनुसार आइतबार बिहान ४ बजे उङ्गिलुङ खोलामा सुक्खा पहिरो खसेको थियो । पहिरोका कारण खोला केही समय थुनिएपछि एक्कासि खुलेर बाढी आएको हो । बाढीपछि १० जना सम्पर्कमा नरहेको उनले बताए ।

उङ्गिलुङ खोलाबाट बूढीगण्डकीमा आएको बाढीले हालसम्म दुईवटा मोटरेबल पुल र चारवटा झोलुङ्गे पुल बगाएको छ ।

बाढीले गोरखाको आरुघाट र धादिङको त्रिपुरासुन्दरी जोड्ने मोटरेबल पुल बगाएको छ । यस्तै, आरुघाटको सोती र मान्बु जोड्ने पक्की पुल पनि बगाएको आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए ।

बूढीगण्डकीको बाढीले धार्चे गाउँपालिका–१ र ३ जोड्ने बेलिब्रिजसमेत बगाएको छ । माछीखोला र केरौँजा जोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडोभर्‍याङ र जगत जोड्ने पुल तथा सिर्दिबासको घट्टेखोला र फिलिम जोड्ने झोलुङ्गे पुल पनि बगाएको चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले बताइन् ।

यसैबीच, नेपाली सेनाले हवाईमार्गबाट जगत क्षेत्रबाट ६ जनाको उद्धार गरेको छ । बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×