बूढीगण्डकी बाढीः जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २५, आइतबार ११:१६

काठमाडौं । गोरखाको आरुघाटमा बूढीगण्डकी नदीको सतहले खतराको तह पार गरेपछि नदी आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ । नदीको सतह केही घटे पनि बूढीगण्डकी करिडोरमा बाढीको जोखिम कायमै रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका बाढीविद् विनोद पराजुलीका अनुसार आइतबार बिहान आरुघाटमा बूढीगण्डकीको सतह ५.१ मिटर पुगेको थियो । आरुघाटमा पाँच मिटरलाई खतराको तह मानिन्छ । अहिले पानीको सतह केही घटे पनि निरन्तर घटबढ भइरहेकाले जोखिम नहटेको उनले बताए ।

नदीमा पानीको बहाव स्थिर नरहेको र सतहमा उतारचढाव देखिएकाले बूढीगण्डकी आसपासका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी थुनिने र पुनः खुल्ने क्रमका कारण पानीको सतहमा परिवर्तन आएको हुन सक्ने महाशाखाको अनुमान छ ।

‘बूढीगण्डकीको अधिकांश भाग साँघुरो भएकाले पानीको सतह बढ्दा थप क्षति हुन सक्छ,’ पराजुलीले भने । उनका अनुसार बाढीको जोखिम त्रिशूली नदीको दोभानसम्म रहेकाले नदी किनारमा नजान र सुरक्षित उच्च स्थानमा बस्न आवश्यक छ ।

बेनीघाटभन्दा तल त्रिशूली नदी क्षेत्रमा तत्काल ठूलो जोखिम नरहेको महाशाखाको आकलन छ । बूढीगण्डकी त्रिशूलीमा मिसिने क्षेत्रमा सतह बढे पनि त्रिशूलीमा करिब एक मिटरमात्रै सतह बढ्न सक्ने अनुमान गरिएको पराजुलीले बताए ।

महाशाखाले बाढीको अवस्था निरन्तर परिवर्तन हुन सक्ने भएकाले नदी आसपासका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त स्थानबाट टाढा बस्न आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×