
काठमाडौं । गोरखाको सल्लेरीस्थित टाइम्स इनर्जी प्राइभेट लिमिटेडमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ । बाढी आउन लागेको सूचना पाएपछि भागेका आयोजनाका १८ जना कर्मचारीले भने ज्यान जोगाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्रारम्भिक सूचनामा बाढीले कम्पनीका नौवटा ब्लक र छवटा सार्वजनिक भवन बगाएको छ । आयोजनामा कार्यरत १८ जना कर्मचारीले स्थानीयबाट बाढी आउन लागेको सूचना पाएपछि सुरक्षित स्थानमा गएर ज्यान जोगाएका हुन् । उनीहरू आफैँ अग्लो स्थानमा पुगेका थिए ।
उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिए । ‘प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मीहरू आ–आफ्नो क्षेत्रमा परिचालित छन् । अहिले सबैभन्दा महत्त्वपूर्ण कुरा मानवीय जीवनको रक्षा गर्नु हो,’ उप्रेतीले भने ।
नेपाली सेनाले यसअघि नै जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिसकेको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेनाको हवाई टोली काठमाडौंंँबाट परिचालन गरिएको छ । स्थलमार्गबाट पनि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली खटिएका छन् ।



















