
काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको तेस्रो दिन आज (मंगलबार) नवदुर्गामध्येकी तेस्री देवी चन्द्रघण्टाको पूजाआराधना गरिँदै छ । दसैँघर तथा घरघरका पूजाकोठामा देवीको विधिपूर्वक पूजा गरी भक्तजनले शक्ति, साहस र कल्याणको कामना गरिरहेका छन् ।
पौराणिक मान्यताअनुसार शिरमा अर्धचन्द्र र घण्टा धारण गर्ने देवीलाई चन्द्रघण्टा भनिएको हो । मार्कण्डेय पुराणमा पनि चन्द्रघण्टाको स्वरूप र नामको व्याख्या गरिएको छ । देवीको स्वरूप पहेँलो वर्णको रहेको धार्मिक ग्रन्थमा उल्लेख छ ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका सेवा निवृत्त प्राध्यापक तोयराज नेपालका अनुसार नवरात्रमा देवीको विशेष आराधना गर्नुको उद्देश्य शक्ति प्राप्तिका साथै धार्मिक आस्था र विश्वासलाई निरन्तरता दिनु हो । चन्द्रघण्टा देवीलाई अन्याय र अत्याचारको नाश गर्ने शक्तिका रूपमा समेत वर्णन गरिएको छ ।
धार्मिक विश्वासअनुसार उनको आराधना र ध्यानले भक्तजनमा साहस तथा सकारात्मक ऊर्जा प्राप्त हुन्छ । यस दिन देवीको ध्यान गर्दा मणिपुर चक्रमा केन्द्रित हुने परम्परा पनि रहेको छ ।
वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईका अनुसार विभिन्न पुराण तथा धार्मिक ग्रन्थमा चन्द्रघण्टा देवीको कृपाले पाप नाश हुने र भक्तजनको कल्याण हुने विश्वास व्यक्त गरिएको छ । देवीको स्वरूपलाई शान्त, करुणामयी र शक्तिशाली रूपमा चित्रण गरिएको उनले बताए ।
संगीत तथा गीतसंगीत क्षेत्रमा संलग्न व्यक्तिहरूले पनि चन्द्रघण्टा देवीको विशेष आराधना गर्ने धार्मिक मान्यता छ । श्रद्धापूर्वक पूजा तथा ध्यान गर्नाले ललाटमा तेज र चमक प्राप्त हुने विश्वास गरिन्छ ।
नवरात्रका नौ दिन नवदुर्गाका अलग–अलग स्वरूपको पूजा गर्ने परम्परा छ । यस क्रममा तेस्रो दिन चन्द्रघण्टाको आराधना गरी भक्तजनले सुख, शान्ति, शक्ति र समृद्धिको कामना गर्ने गर्छन् ।

























