
काठमाडौं । सार्वजनिक यातायातका यात्रुलाई राजमार्गका होटल तथा रेस्टुरेन्टले बासी, सडेगलेको र महँगो खाना खुवाउने गरेको गुनासो बढेपछि सरकारले कारबाही गर्ने चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै अखाद्य खाना खुवाएर यात्रु बिरामी परेमा होटल तथा रेस्टुरेन्ट सञ्चालकसँगै सम्बन्धित सवारी चालकलाई समेत कारबाही गर्ने जनाएको छ ।
विभागका अनुसार यात्रुवाहक सवारीसाधन रोकिने होटल तथा रेस्टुरेन्टमा सरसफाइको कमी, बासी तथा झिँगा भन्केका खाना बिक्री गर्ने र अत्यधिक मूल्य असुल्ने गरेको गुनासो आएपछि पूर्वाधार विकास मन्त्रालयमा सरोकारवाला निकायबीच बैठक बसेको थियो । सोही बैठकको निर्णयअनुसार विभागले सूचना जारी गरेको हो ।
विभागका निर्देशक मणिराम भुसालद्वारा जारी सूचनामा सार्वजनिक सवारीका चालकलाई सफा, स्वच्छ र गुणस्तरीय खाना पाइने स्थानमा मात्रै गाडी रोक्न निर्देशन दिइएको छ । सम्भव भएसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट ‘खाद्य स्वच्छताको स्टिकर’ लगाएका होटल तथा रेस्टुरेन्टलाई प्राथमिकता दिन पनि चालकहरूलाई आग्रह गरिएको छ ।
विभागले राजमार्गका होटल तथा रेस्टुरेन्टको सम्बन्धित निकायबाट सूक्ष्म निगरानी भइरहेको जनाएको छ । होटल तथा रेस्टुरेन्टमा उपलब्ध खाजा, नास्ता वा खानाका कारण यात्रु बिरामी भएको पाइएमा सम्बन्धित सवारी चालक र होटल सञ्चालकलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने विभागले स्पष्ट पारेको छ ।
खानाको गुणस्तरमा कमी पाइएमा वा मूल्यमा ठगी भएको महसुस भएमा नजिकैको सम्बन्धित निकायमा उजुरी गर्न विभागले यात्रुलाई आग्रह गरेको छ । अस्वच्छ खाना दिएको वा ठगी गरेको पाइएमा यात्रुले नेपाल प्रहरीको टोल–फ्री नम्बर १०० मा फोन गरेर जानकारी गराउन सक्नेछन् ।
त्यस्तै, सम्बन्धित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय वा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा त्यसअन्तर्गतका नजिकका कार्यालयमा सम्पर्क गरेर पनि उजुरी दिन सकिने विभागले जनाएको छ ।

























