
विराटनगर । विराटनगरको ट्राफिक चोकस्थित जीवन विकासको मिठाइ पसलबाट खरिद गरिएको मिठाइमा ढुसी परेको गुनासो आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गरी अन्य मिठाइको नमुना परीक्षणका लागि प्रयोगशाला पठाएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक प्रकृति वस्तीको नेतृत्वमा पुगेको टोलीले अनुगमन गर्दा गुनासो गरिएको मिठाइ सकिइसकेको पाएको थियो । त्यसपछि सोही कच्चा पदार्थबाट बनेका अन्य मिठाइको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको वस्तीले बताइन्। परीक्षण रिपोर्ट आउन ४८ घण्टा लाग्ने र त्यसपछि मात्र गुणस्तरबारे यकिन हुने उनले जानकारी दिइन्।
संसारीमाईस्थान अगाडि रहेको साेम्स कलेजमा आयोजित कार्यक्रममा वितरण गर्न ट्राफिक चोक शाखाबाट लगिएको मिठाइ मंगलबार वितरण गर्ने क्रममा ढुसी परेको अवस्थामा भेटिएपछि घटनाबारे खाद्य अनुगमन टोलीलाई खबर गरेपछि अनुगमन गरिएको थियो ।
अनुगमनका क्रममा बिक्रीका लागि राखिएका मिठाइमा उत्पादन मिति र उपभोग गर्न मिल्ने अवधिसम्बन्धी विवरणसमेत स्पष्ट नभेटिएको जनाइएको छ। यता, जीवन विकास डेरीले दूधजन्य सामग्री भएकाले कहिलेकाहीँ यस्तो समस्या आउन सक्ने प्रतिक्रिया दिएको छ ।
मिठाइको प्रयोगशाला परीक्षण रिपोर्ट आएपछि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ । उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले खाद्य सामग्रीको गुणस्तर, उत्पादन मिति र भण्डारणमा ध्यान दिनुका साथै नियमित बजार अनुगमन गर्नुपर्ने आवश्यकता देखिएको छ।

























