
काठमाडौं । बाढी र पहिरोका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार केही सडक खण्ड एकतर्फी सञ्चालनमा आए पनि केही पूर्ण रूपमा बन्द छन् ।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते बिहान गएको पहिरोका कारण बेनी–जोमसोम सडक खण्ड एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेको छ ।
त्यस्तै, नवलपरासी (पूर्व) को बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा असोज १४ गते गएको पहिरोले कालीगण्डकी करिडोर प्रभावित भएको छ । उक्त सडक खण्ड एकतर्फी सञ्चालनमा रहे पनि साना सवारीसाधन मात्र चल्न सक्ने अवस्था छ। ठूला सवारीसाधनको आवागमन भने बन्द छ ।
यसैगरी, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नम्बर ९ को नयाँपुल क्षेत्रमा असोज २५ गते बिहान आएको बाढीले सडक तथा पुलमा क्षति पुर्याउँदा आवागमन अवरुद्ध भएको छ । बाढीका कारण सोतीमा रहेको फलामे पुल र गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा बन्द भएको छ ।

























