
एजेन्सी । साउदी अरबको ऊर्जा क्षेत्रलाई लक्षित गर्दै भइरहेका आक्रमण थप गम्भीर बन्दै गएका छन् । साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा मंगलबार राति ब्यालिस्टिक मिसाइल प्रहार भएको छ ।
आक्रमणपछि भवनमा आगलागी भएको र कार्यालयका माथिल्ला तीन तलामा क्षति पुगेको विवरण सार्वजनिक भएको छ । साउदी सरकारी समाचार संस्था एसपीए र रोयटर्सका अनुसार घटनामा मानवीय क्षति भएको खबर छैन । यद्यपि, आक्रमणको जिम्मेवारी कसले लिएको हो भन्ने स्वतन्त्र पुष्टि भएको छैन ।
अरामको साउदी अर्थतन्त्रको प्रमुख आधार हो । कम्पनीको सञ्चालन सञ्जालमा तेल उत्खनन केन्द्र, पाइपलाइन, प्रशोधन केन्द्र र निर्यात टर्मिनल समावेश छन् । यस्तो महत्त्वपूर्ण पूर्वाधारमा भएको आक्रमणले साउदी अरबको ऊर्जा सुरक्षामाथि चुनौती थपेको छ ।
साउदी अधिकारीहरूका अनुसार राजधानी रियादसहित विभिन्न क्षेत्रमा प्रहार गरिएका मिसाइल र ड्रोनलाई आकाशमै निष्क्रिय पारिएको छ । धहरानमा रोकिएको मिसाइलका टुक्रा आवासीय क्षेत्रमा खसेको बताइएको छ । तर, त्यसबाट भएको क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन ।
पछिल्लो समय साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीच तनाव बढिरहेको छ । हुथी प्रवक्ता याह्या सरीले यसअघि नै साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सनामा गरेको आक्रमणको जवाफमा कडा कारबाही गर्ने चेतावनी दिएका थिए । उनले अरामकोको परिसर र रियादस्थित तेल प्रशोधन केन्द्रलाई सम्भावित निशानाका रूपमा उल्लेख गरेका थिए ।
यसैबीच, साउदी नेतृत्वको गठबन्धनले सनाको बाहिरी क्षेत्रमा रहेको इन्धन केन्द्रलाई पनि निशाना बनाएको छ । गठबन्धनले हुथी विद्रोहीको सैन्य क्षमता कमजोर पार्न कारबाही गरिएको जनाएको छ ।
क्षेत्रीय तनाव बढिरहेका बेला इरानले भने साउदी अरब र हुथी विद्रोहीबीच मध्यस्थता गर्ने प्रस्ताव अघि सारेको छ । साउदी अरबले सैन्य प्रतिकार र सहयोगी राष्ट्रको समर्थन खोजिरहेका बेला इरानको प्रस्तावले द्वन्द्व समाधानको कूटनीतिक सम्भावनासमेत खुला गरेको छ ।

























