सर्पदंशबाट बर्सेनि एक हजारको मृत्यु 

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन २८, बुधबार ०९:२९
सर्पदंशबाट बर्सेनि एक हजारको मृत्यु 

विराटनगर । सर्पदंशपछि गरिने गलत उपचार विधि र अस्पताल पुग्न हुने ढिलाइका कारण ज्यान जोखिममा पर्ने भन्दै विज्ञहरूले समयमै उपचार र समुदायस्तरमा जनचेतना विस्तार गर्न जोड दिएका छन् ।

फेयरमेड र सीबीआर विराटनगरले सञ्चारकर्मीसँग आयोजना गरेको अन्तरक्रियामा नेपालमा सर्पदंशको अवस्था, लक्षण, रोकथाम तथा सुरक्षित प्राथमिक उपचारका उपायबारे जानकारी दिँदै विज्ञहरूले सर्पले टोकेमा घरेलु उपचारमा समय खेर नफाली तत्काल अस्पताल पुर्‍याउन आग्रह गरेका हुन् ।

कार्यक्रममा नेपाल जनस्वास्थ्य संघका महासचिव कैलाश खाकी श्रेष्ठले नेपालमा बर्सेनि करिब २० हजार मानिसलाई सर्पले टोक्ने र करिब एक हजार जनाको मृत्यु हुने अनुमान रहेको बताए । सर्पदंशबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न सुरक्षित प्राथमिक उपचार, समयमै अस्पतालसम्मको पहुँच र समुदायमा सही सूचना प्रवाह आवश्यक रहेको उनको भनाइ थियो ।

विश्व स्वास्थ्य संगठनले सन् २०३० सम्ममा सर्पदंशका कारण हुने मृत्यु र अपांगता ५० प्रतिशतले घटाउने लक्ष्य राखेको छ । उक्त लक्ष्य हासिल गर्न समुदायमा सचेतना अभिवृद्धि, प्रभावकारी उपचार सेवा र स्वास्थ्य संस्थाको क्षमता सुदृढीकरणमा जोड दिनुपर्ने श्रेष्ठले बताए ।

उनका अनुसार तराई क्षेत्रका कृषक, कृषि मजदुर, माछा मार्ने व्यक्ति, सपेरा तथा बालबालिका सर्पदंशको उच्च जोखिममा छन् । खेतबारीमा काम गर्दा, राति हिँड्दा र भुइँमा सुत्दा विशेष सावधानी अपनाउनुपर्ने उनले बताए ।

अन्तरक्रियामा नेपालमा पाइने ८९ प्रजातिका सर्पमध्ये १७ प्रजाति विषालु रहेको जानकारी दिइयो । गोमन, करेत, किङ कोब्रा, कोरल तथा विभिन्न प्रजातिका भाइपर विषालु सर्पमा पर्छन् । गोमन र करैतको विषले स्नायु प्रणालीमा असर गरी पक्षघात तथा श्वासप्रश्वासमा समस्या निम्त्याउन सक्छ भने भाइपरको विषले रगत जम्ने प्रक्रियामा असर पुर्‍याउन सक्ने श्रेष्ठले जानकारी दिए ।

सर्पदंशपछि धामी झाँक्रीकहाँ लैजाने, टोकेको ठाउँ काट्ने वा चुस्ने, आगोले डाम्ने तथा अप्रमाणित घरेलु उपचार गर्ने प्रवृत्तिले अस्पताल पुग्न ढिलाइ हुने र बिरामीको अवस्था गम्भीर बन्न सक्ने श्रेष्ठले बताए । यस्ता अभ्यासबाट टाढा रहँदै बिरामीलाई तत्काल सर्पदंश उपचार केन्द्र वा अस्पताल पुर्‍याउनुपर्नेमा उनले जोड दिए ।

सर्पले टोकेपछि बिरामीलाई शान्त राख्ने, अनावश्यक हिँडडुल गर्न नदिने र प्रभावित अङ्गलाई काम्रोको सहायताले स्थिर राखेर उपचार केन्द्र लैजानुपर्ने सुझाव दिइएको छ । कसिलो डोरी वा पट्टी बाँध्न नहुने तथा सुन्निन सक्ने भएकाले औँठी, चुरा र अन्य कसिला वस्तु हटाउनुपर्ने सर्पदंश व्यवस्थापन निर्देशिकामा उल्लेख छ ।

फेयरमेडकी वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत रुषा उपाध्यायले सर्पदंशबाट हुने क्षति घटाउन जोखिममा रहेका समुदायसम्म सही सूचना पुर्‍याउन आवश्यक रहेको बताइन् । रोकथाम, सुरक्षित प्राथमिक उपचार र उपलब्ध उपचार केन्द्रबारे जानकारी दिन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

त्यस्तै, सीबीआरका जिल्ला प्रोजेक्ट संयोजक जेनिश चौधरीले स्थानीय सरकार, स्वास्थ्य संस्था र समुदायबीच समन्वय बढाएर सर्पदंशका बिरामीलाई समयमै उपचारको पहुँचमा पुर्‍याउनुपर्ने बताए । आपत्कालीन यातायातको व्यवस्था र उपचार केन्द्रसँगको सम्पर्क प्रणालीलाई प्रभावकारी बनाउन पनि उनले जोड दिए ।

सर्पदंशबाट बच्न खेतबारीमा काम गर्दा बुट र पन्जा लगाउने, भुइँमा नसुत्ने, झुल प्रयोग गर्ने, घर वरिपरिको वातावरण सफा राख्ने र मुसाको नियन्त्रण गर्ने सुझाव दिइएको छ । राति हिँड्दा टर्च प्रयोग गर्न तथा सर्प लुकेर बस्न सक्ने स्थानमा सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।

श्रेष्ठले सर्पदंशको उपचारमा प्रयोग हुने एन्टिभेनम, आवश्यक उपकरण र प्रशिक्षित स्वास्थ्यकर्मीको उपलब्धता सुनिश्चित गर्न स्थानीय सरकारलाई आग्रह गरे । गम्भीर बिरामीका लागि भेन्टिलेटर तथा सघन उपचार सेवामा पहुँच विस्तार गर्नुका साथै समुदायस्तरमा नियमित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×