
विराटनगर । मातृभूमि नेपालबाट हजारौँ किलोमिटर टाढा रहे पनि देशसँगको सम्बन्ध र अपनत्व टुट्दैन । देशमा विपत्ति पर्दा पीडितको आँसु पुछ्न आफूले सकेको योगदान गर्नुपर्छ भन्ने भावनाले मानिसलाई कति अर्थपूर्ण काम गर्न प्रेरित गर्न सक्छ भन्ने उदाहरण क्यानाडाको अल्बर्टा प्रान्तस्थित कोक्रेनमा रहेको ‘आमा नेपाली कुजिन’ले प्रस्तुत गरेको छ ।
विराटनगरका ज्ञानेन्द्र बन्जरा शर्मा र तारा पौडेलले सञ्चालन गर्दै आएको यो रेस्टुरेन्टले आफ्नो नियमित कार्यक्रमलाई मानवीय सहयोग अभियानसँग जोडेर नेपालका बाढीपीडित परिवारका लागि एक लाख २५ हजार क्यानेडियन डलरभन्दा बढी रकम सङ्कलन गरेको छ । यो रकम नेपाली रुपैयाँमा करिब एक करोड ३० लाख हुन्छ ।
‘मोमोथन : ट्रेक टु नेपाल’ नाम दिइएको कार्यक्रमको यो तेस्रो शृङ्खला हो। तर, नियमित कार्यक्रमलाई नेपालका बाढीपीडितका लागि बृहत् सहयोग अभियानका रूपमा सञ्चालन गरिएको भने पहिलोपटक हो । मोमो बेच्ने र नेपाली परिकारको प्रवर्द्धन गर्ने व्यवसायलाई विपत्तिमा परेका परिवारको सहयोग जुटाउने माध्यम बनाउनु यस अभियानको विशेषता हो। यसले प्रवासमा रहेर पनि मातृभूमिप्रतिको जिम्मेवारी पूरा गर्न र आफ्नै व्यवसायमार्फत मानवीय सेवामा योगदान दिन सकिने देखाएको छ ।
नेपालमा ठूलो विपत्ति पर्दा धेरै परिवार घरबार र जीविकोपार्जनको आधार गुमाएर पीडामा परेको खबरले ज्ञानेन्द्र र तारालाई पनि विचलित बनायो। व्यवसायमा व्यस्त रहे पनि मातृभूमिमा परेको दुःखमा आफूहरूले कुनै न कुनै रूपमा साथ दिनुपर्छ भन्ने उनीहरूलाई लाग्यो।
सुरुमा उनीहरूले प्रधानमन्त्री राहत कोषमा एक हजार क्यानेडियन डलर पठाए। तर, त्यतिले मात्रै चित्त बुझेन। अझ धेरै सहयोग जुटाउन सकिन्छ भन्ने सोचले यस वर्षको नियमित ‘मोमोथन’ कार्यक्रमलाई नै नेपालका बाढीपीडितका लागि सहयोग अभियानमा रूपान्तरण गर्ने निर्णय गरे।
त्यसपछि उनीहरूले गरेको अपेक्षाभन्दा धेरै मानिस अभियानमा जोडिए। अन्ततः एक लाख २५ हजार क्यानेडियन डलरभन्दा बढी रकम सङ्कलन भयो । “निःस्वार्थ भावले आँट गरेपछि सफल हुने रहेछ,” अभियानको सफलताप्रति खुसी व्यक्त गर्दै तारा र ज्ञानेन्द्रले भने। नेपालप्रतिको चिन्ता र पीडितलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले प्रेरित भएर धेरै मानिसले खुलेर साथ दिएको उनीहरूको भनाइ छ । अभियानमा जोडिएका सबै सहयोगीप्रति उनीहरूले आभार व्यक्त गरेका छन्।
‘मोमोथन : ट्रेक टु नेपाल’को यस वर्षको कार्यक्रम सन् २०२६ अक्टोबर ३ मा कोक्रेनमा आयोजना गरिएको थियो। कार्यक्रमलाई मनोरञ्जनात्मक र सहभागितामूलक बनाउनुका साथै नेपालसँग भावनात्मक रूपमा जोड्न आयोजकले सगरमाथा आधार शिविरको यात्राको झल्को दिने व्यवस्था गरेका थिए।
कार्यक्रमस्थल र पदयात्राका विभिन्न बिन्दुलाई सगरमाथा आधार शिविरतर्फको यात्रासँग सम्बन्धित स्थानको नाम दिएर सजाइएको थियो। सहभागीलाई निर्धारित मार्गमा गाइड गर्दै अघि बढाइएको थियो। यसरी क्यानाडामै बसेर नेपालको हिमाली यात्राको अनुभूति गराउने प्रयास गरिएको थियो।
हेरिटेज हिल्स क्षेत्रमा करिब ३.५ किलोमिटर लामो निर्देशित पदयात्रा सञ्चालन गरिएको थियो। यात्राका क्रममा १२ वटा निर्धारित स्थानमा सहयोग सङ्कलन गर्ने व्यवस्था थियो। सहभागीलाई प्रत्येक स्थानमा एक वा दुई क्यानेडियन डलरका सिक्का सहयोगस्वरूप राख्न प्रोत्साहित गरिएको थियो। अन्तिम गन्तव्यलाई सगरमाथाको २९ हजार ३१ फिट उचाइको प्रतीकात्मक शिखरका रूपमा प्रस्तुत गरिएको थियो, जहाँ पाँच डलर सहयोग गर्ने अवधारणा राखिएको थियो।
सामान्य पदयात्रालाई नेपालको प्राकृतिक पहिचान र मानवीय सहयोगसँग जोडेर तयार गरिएको यस कार्यक्रमले परिवारसहित सहभागी हुन सक्ने वातावरण बनाएको थियो। सहयोगलाई सहज र रमाइलो बनाउँदै एउटै उद्देश्यमा मानिसलाई जोड्नु यसको अर्को विशेषता रह्यो।
अभियानमा सामुदायिक सहभागिता उल्लेख्य रह्यो। आयोजकका अनुसार, २९ क्यानेडियन डलरमा मोमो अर्डर गरेर पदयात्रामा सहभागी हुने ३४० जना थिए। उनीहरूबाहेक स्वतःस्फूर्त रूपमा थप १०८ जना सहभागी भए। यसरी कार्यक्रमस्थलमा प्रत्यक्ष उपस्थित हुनेको सङ्ख्या ४४८ पुग्यो।
कार्यक्रममा उपस्थित हुन नसके पनि आर्थिक तथा अन्य माध्यमबाट सहयोग गर्नेहरूको योगदान जोड्दा अभियानमा सहभागी हुनेको कुल सङ्ख्या करिब ७०० पुगेको आयोजकले बताएका छन्। कसैले मोमो अर्डर गरेर, कसैले पदयात्रामा सहभागी भएर त कसैले आर्थिक सहयोगमार्फत अभियानलाई साथ दिए। फरक–फरक तरिकाले गरिएको योगदानले सामूहिक प्रयासको महत्त्व देखाएको छ।
मोमो अर्डर गर्ने प्रत्येक व्यक्तिलाई सन् २०२७ मा सगरमाथा आधार शिविरसम्मको यात्रा गर्ने चिठ्ठामा सहभागी हुने अवसर पनि दिइएको थियो। उक्त यात्राको सम्पूर्ण खर्च आयोजकले बेहोर्ने व्यवस्था छ। चिठ्ठा जनवरीमा खोलिनेछ र विजेतामध्ये एक जनाले सगरमाथा आधार शिविर भ्रमण गर्ने अवसर पाउनेछन्।
आयोजकका अनुसार, यसअघिका एक जना विजेता सगरमाथा आधार शिविर पुगेर फर्किसकेका छन् भने अर्का एक जना आगामी जनवरीमा जाने तयारीमा छन्। यसले मोमो अर्डर गर्ने र सहयोग गर्नेहरूलाई नेपाली खानाको स्वादसँगै नेपालको प्राकृतिक सम्पदासँग जोडिने अवसर पनि दिएको छ।
अभियानबाट सङ्कलित रकम नेपालका बाढीप्रभावित परिवारको राहत तथा पुनःस्थापनामा खर्च गर्ने उद्देश्य राखिएको थियो। आयोजकबाट प्राप्त जानकारीअनुसार, रकम ‘रोटरी क्लब अफ कोक्रेन’ र ‘सेल्टर बक्स डिजास्टर रिलिफ’सँगको सहकार्यमा नेपालका प्रभावित क्षेत्रमा पुर्याइसकिएको छ।
आयोजकका अनुसार, सेल्टर बक्सका प्रतिनिधिहरू नेपालमै रहेर बाढीप्रभावित क्षेत्रमा सहयोग तथा सेवा प्रदान गरिरहेका छन्। सेल्टर बक्स विपद्का बेला प्रभावित समुदायलाई सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय संस्था हो। नेपालसहित श्रीलङ्का र भेनेजुएलालगायत देशमा विपद् राहतका काममा संलग्न यस संस्थाले सन् २०१५ को विनाशकारी भूकम्पपछि पनि नेपालमा सहयोग गरेको थियो।
क्यानाडामा सङ्कलन गरिएको रकम प्रभावित समुदायसम्म पुर्याउन स्थानीय तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरिएको छ। यसले विदेशमा उठाइएको सहयोगलाई आवश्यक परेका परिवारसम्म पुर्याउने प्रक्रियामा संस्थागत सञ्जालको भूमिका देखाउँछ।
‘मोमोथन : ट्रेक टु नेपाल’ आमा नेपाली कुजिनले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम हो। आयोजकका अनुसार, हरेक वर्ष जुलाईमा कार्यक्रमको आह्वान गरिन्छ र यसको प्रक्रिया प्रायः जनवरीमा समापन हुन्छ। तेस्रो शृङ्खलासम्म आइपुग्दा यस वर्ष पहिलोपटक कार्यक्रमलाई नेपालका बाढीपीडितका लागि बृहत् परोपकारी अभियानका रूपमा विस्तार गरिएको हो। यस वर्ष प्राप्त सहयोग र सामुदायिक सहभागिताले आगामी दिनमा कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी च्यारिटी अभियानका रूपमा अघि बढाउने सम्भावना देखाएको छ।
व्यवसायसँग जोडिएको सामान्य कार्यक्रमलाई मानवीय सेवाको अभियानमा रूपान्तरण गर्दै आमा नेपाली कुजिनले प्रवासमा बसेर पनि मातृभूमिको दुःखमा साथ दिन सकिने उदाहरण प्रस्तुत गरेको छ। मोमोको स्वादसँगै नेपालका बाढीपीडित परिवारका लागि सहयोग जुटाउने यो प्रयासले दूरीले देशप्रतिको माया र जिम्मेवारीलाई रोक्न सक्दैन भन्ने सन्देश दिएको छ।
(क्यानाडाबाट प्रकाशित हुने ‘नेपाल टच’ को समाचारमा आधारित)



















