
काठमाडौं । मानव उपभोगका लागि अनुपयुक्त चोकर प्रयोग गरिएको पाइएपछि सरकारले भारतीय ब्रान्ड ‘प्रियागोल्ड’ बिस्कुटको आयात तथा बिक्री वितरणमा तत्काल रोक लगाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा रहेका सबै ब्याच र उत्पादन मितिका बिस्कुट फिर्ता गर्न निर्देशन दिएको छ।
विभागले आइतबार सूचना जारी गर्दै बिस्कुटको पैठारी स्वीकृति र नाकाबाट हुने प्रवेश अनुमति स्थगन गरिएको जनाएको हो । भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले अक्टोबर १७ मा जारी गरेको सूचनाका आधारमा नेपालले यस्तो निर्णय गरेको हो।
भारतमा उपभोक्ताको उजुरीपछि गरिएको निरीक्षणमा प्रियागोल्ड बिस्कुट उत्पादन गर्ने कम्पनी सूर्या फुड एन्ड एग्रो लिमिटेडले मानव उपभोगका लागि नभई गाईबस्तुको दानामा प्रयोग हुने चोकर बिस्कुटमा प्रयोग गरेको पाइएको थियो। कारखानामा सरसफाइ, कीटनाशक नियन्त्रण, कच्चापदार्थ भण्डारण र कर्मचारीको व्यक्तिगत स्वच्छतामा समेत कमजोरी भेटिएको भारतीय पक्षको सूचनामा उल्लेख छ। त्यसपछि कम्पनीको इजाजतपत्र निलम्बन गरी कानुनी कारबाही अघि बढाइएको जनाइएको छ।
विभागले आयातकर्ता, वितरक तथा खाद्य व्यवसायीलाई सम्बन्धित बिस्कुटको बिक्री तत्काल बन्द गरी बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। फिर्ता गरिएका बिस्कुट स्थानीय प्रशासनका प्रतिनिधि र विभागका प्राविधिक कर्मचारीको रोहबरमा मुचुल्का तयार गरी सुरक्षित रूपमा नष्ट गर्नुपर्नेछ। निर्देशन उल्लङ्घन गरे प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने विभागले चेतावनी दिएको छ।

























