इजरायलमा सत्ता संघर्ष तीव्र, नेतान्याहुलाई विपक्षीको चुनौती

Share this
768shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ५, बिहीबार १४:२१

एजेन्सी । गाजामा युद्ध सुरु भएको तीन वर्षपछि इजरायलमा हुन लागेको निर्वाचनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक भविष्य निर्धारण गर्ने देखिएको छ। आगामी मंगलबार हुने निर्वाचनमा नेतान्याहुको लिकुड पार्टीसहित विभिन्न राजनीतिक दलबीच प्रतिस्पर्धा हुने र सरकार गठनका लागि गठबन्धन निर्णायक बन्ने अनुमान गरिएको छ।

जनमत सर्वेक्षणहरूले नेतान्याहुको लिकुड पार्टी र गदी इसेनकोट नेतृत्वको मध्यमार्गी याशर पार्टीबीच प्रतिस्पर्धा देखाएका छन्। इजरायलको १२० सदस्यीय संसद् नेसेटमा सरकार बनाउन कम्तीमा ६१ सांसदको समर्थन आवश्यक पर्ने भएकाले निर्वाचनपछि दलहरूबीचको समीकरणले नयाँ सरकारको स्वरूप तय गर्नेछ।

७७ वर्षीय नेतान्याहु इजरायलमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेता हुन्। उनका समर्थकहरूले सुरक्षा र आर्थिक मामिलामा रहेको अनुभव तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्धलाई उनको राजनीतिक शक्ति मान्छन्। तर, आलोचकहरूले सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणअघि सुरक्षा व्यवस्थामा कमजोरी रहेको र त्यसपछिको युद्ध व्यवस्थापन प्रभावकारी हुन नसकेको आरोप लगाउँदै आएका छन्। नेतान्याहुले आफूविरुद्धका युद्ध अपराध, मानवताविरुद्धका अपराध तथा ठगी र घुससम्बन्धी आरोप अस्वीकार गर्दै आएका छन्।

नेतान्याहुलाई चुनौती दिइरहेका ६६ वर्षीय पूर्वसैनिक प्रमुख गदी इसेनकोटले आफूलाई मध्यमार्गी विकल्पका रूपमा प्रस्तुत गरेका छन्। गाजामा जारी युद्धका क्रममा उनका छोरा र दुई भतिजाको मृत्यु भएको थियो। नेतान्याहुको युद्ध मन्त्रिपरिषद्मा सहभागी भएका इसेनकोटले स्पष्ट रणनीति अभाव रहेको भन्दै आठ महिनापछि पद त्यागेका थिए। उनी सुरक्षा नीतिमा भने कडा धारणा राख्ने नेताका रूपमा चिनिन्छन्।

पूर्वप्रधानमन्त्री नाफ्ताली बेनेट पनि मध्यमार्गी नेता यायर लापिडसँग चुनावी गठबन्धनमा छन्। बेनेट प्यालेस्टिनी स्वतन्त्रताको विरोध गर्दै आएका छन् भने पश्चिमी किनारमा यहुदी बस्ती विस्तारको समर्थन गर्छन्। सन् २०२१ मा उनले वामपन्थी र अरब दलहरूको समर्थनमा गठबन्धन सरकारको नेतृत्व गरेका थिए।

यसैबीच, राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन–गभिरको नेतृत्वमा रहेको अति दक्षिणपन्थी धार पनि निर्वाचनमा महत्त्वपूर्ण शक्तिका रूपमा देखिएको छ। प्यालेस्टिनीहरूलाई गाजाबाट अन्यत्र स्थानान्तरण गर्ने तथा त्यहाँ यहुदी बस्ती पुनःस्थापना गर्ने प्रस्तावका कारण उनी विवादमा पर्दै आएका छन्। अघिल्लो निर्वाचनमा उनको पार्टीले राम्रो प्रदर्शन गरेपछि नेतान्याहुको गठबन्धनमा दक्षिणपन्थी प्रभाव बढेको थियो।

अरब समुदायको प्रतिनिधित्व गर्ने राम पार्टीका नेता मन्सुर अब्बास पनि निर्वाचनपछिको राजनीतिक समीकरणमा महत्त्वपूर्ण हुन सक्ने देखिन्छ। ५२ वर्षीय अब्बासले अरब समुदायमा अपराध नियन्त्रणलगायत स्थानीय मुद्दालाई प्राथमिकता दिँदै आएका छन्। सन् २०२१ मा उनको पार्टी इजरायलको सरकारमा सहभागी हुने पहिलो अरब नेतृत्वको दल बनेको थियो।

निर्वाचनमा नेतान्याहुको नेतृत्व कायम रहन्छ वा विपक्षी शक्तिहरूले नयाँ सरकार गठन गर्ने अवसर पाउँछन् भन्ने विषय मतपरिणाम र त्यसपछि बन्ने गठबन्धनमा निर्भर हुनेछ। गाजाको युद्ध व्यवस्थापन, राष्ट्रिय सुरक्षा, प्यालेस्टिनी नीतिहरू र राजनीतिक स्थिरता यस निर्वाचनका प्रमुख मुद्दा बनेका छन्।

तपाइको प्रतिक्रिया
मोटरसाइकलको ठक्करले लेटाङमा वृद्धको मृत्यु
इटहरीमा जुवा खेल्ने पाँच जना पक्राउ, ३ लाख ७१ हजार रुपैयाँ बरामद
रंगेलीमा सशस्त्र प्रहरीमाथि हातपात गरेको आरोपमा तीन जना पक्राउ
इजरायलमा सत्ता संघर्ष तीव्र, नेतान्याहुलाई विपक्षीको चुनौती
विश्वबजारमा पुग्यो नेपाली फिल्म ‘लालीबजार’
बाढीपहिरोले घिरिङका सडक र बस्ती जोखिममा, मर्मतको पहल
त्रियुगामा स्यालको आतंक : १५ पशुचौपाया घाइते, गाउँले त्रसित
ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान
इरानमाथि नयाँ आक्रमणको तयारीमा अमेरिका, तेहरानले दियो कडा प्रतिकारको चेतावनी
देशभर सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ३१३ जना घाइते
प्रदेश लेखा इकाइ प्रमुख पृथ्वीमान लिम्बुले गरे मेरापिक हिमालको आरोहण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×