
विराटनगर । मोरङको पथरीशनिश्चरेमा सम्पन्न दोस्रो सहारा भेट्रान आमन्त्रित नकआउट फुटबल प्रतियोगिताको उपाधि नेता चोक भेट्रान एफसीले जितेको छ। भागिरथ माध्यमिक विद्यालयको खेल मैदानमा भएको फाइनलमा मोरङको नेता चोकले झापा दमकको सेतुमारी भेट्रान क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो।
रोमाञ्चक प्रतिस्पर्धामा नेता चोकलाई जित दिलाउन अनन्तराज चौधरीले दुवै गोल गरे । सेतुमारीका तर्फबाट कुमार गिरीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता नेता चोकका अनन्त चौधरी भए । फाइनल खेलको म्यान अफ द म्याच नेता चोककै डम्बर राई घोषित हुँदा उत्कृष्ट गोलकिपर दीपक दाहाल र उत्कृष्ट प्रशिक्षक देवनारायण चौधरी बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि भने सेतुमारीका खेम पोख्रेलले हात पारे ।
प्रतियोगिताको विजेता नेता चोकले नगद ५१ हजार रुपैयाँ र उपविजेता सेतुमारीले नगद ३१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा सहभागी दुवै टोलीमा राष्ट्रिय लिग खेलिसकेका पूर्वखेलाडीहरूको सहभागिता रहेको थियो । असोज २५ गतेदेखि सुरु भएको प्रतियोगितामा मोरङ र झापाका आठ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

























