
काठमाडौं । मौरिससमा कार्यरत करिब १४ हजार नेपाली श्रमिकको अधिकार, सुरक्षा र मर्यादित रोजगारी सुनिश्चित गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले मौरिससका श्रम तथा औद्योगिक सम्बन्धमन्त्री मुहम्मद रेजा कासाम उतेमसँग छलफल गरेका छन् ।
मौरिससको अनौपचारिक भ्रमणका क्रममा भएको भेटमा नेपाली श्रमिकको हित संरक्षण, श्रमिक भर्नासम्बन्धी द्विपक्षीय समझदारीपत्रको प्रभावकारी कार्यान्वयन तथा सुरक्षित, सम्मानजनक र न्यायोचित कार्य वातावरण सुनिश्चित गर्ने विषयमा विचार आदानप्रदान भएको पराजुलीले बताए ।
श्रमसम्बन्धी विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै दुई देशबीचको सहकार्य थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।
नेपाल र मौरिससबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्ष पूरा भएको सन्दर्भमा द्विपक्षीय सम्बन्ध विस्तार र सुदृढीकरणका विषयले पनि छलफलमा महत्त्व पाएको थियो। यस क्रममा कूटनीतिक उपस्थितिको आवश्यकता र सम्भावना तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत विचारविमर्श भएको पराजुलीले बताए।
भेटमा श्रम सहकार्यका अतिरिक्त पर्यटन, संस्कृति र जनस्तरको सम्बन्ध विस्तारका सम्भावनाबारे पनि छलफल भएको थियो। नेपालको हिमाली प्राकृतिक सौन्दर्य र मौरिससका समुद्री तटलाई पर्यटन सहकार्यका माध्यमबाट जोड्दै दुवै देशबीच पर्यटकीय आदानप्रदान प्रवर्द्धन गर्न सकिने विषयमा विचार आदानप्रदान गरिएको थियो।
त्यसैगरी, मौरिससका हिन्दु धर्मावलम्बीलाई नेपालको पशुपतिनाथ मन्दिर र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडेर धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनाबारे पनि चर्चा भएको थियो। यस्तो सहकार्यले दुवै देशका नागरिकबीच सांस्कृतिक समझदारी, आपसी सद्भाव र जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।
भेटका क्रममा पराजुलीले आत्मीय स्वागत र सार्थक संवादका लागि मन्त्री उतेमप्रति धन्यवाद व्यक्त गर्दै नेपाली श्रमिकको हित संरक्षण तथा श्रम, पर्यटन र सांस्कृतिक सहकार्यका माध्यमबाट नेपाल–मौरिसस सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

























