प्रतीकात्मक तस्बिरविराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० विराटचोकमा विद्युत् सर्ट भएर आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रहरीका अनुसार शुक्रबार राति करिब १०ः४० बजे हस्तबहादुर थापाको टिनको छानो र इँटाको गाह्रो भएको घरमा सञ्चालित किराना पसलमा आगलागी भएको हो ।
आगलागीबाट पसलमा रहेका खाद्यान्न र अन्य सामग्रीमा पाँच लाख रुपैयाँ तथा नगद एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, सोही घरमा भाडामा सञ्चालन गरिएको कमला मुदेलको कपडा पसलमा आगोको धुवाँ र तापका कारण कपडामा क्षति पुगेको छ । उक्त पसलमा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागीबाट पसल रहेका कोठाहरूमा समेत दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय विराटचोकबाट प्रहरी नायब निरीक्षक भीम धमलाको नेतृत्वमा खटिएको टोली, बेलबारी र सुन्दरहरैँचा नगरपालिकाका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा राति ११ः३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो ।

























