
पाँचथर । बुबामाथि खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–६ छयागुका ४५ वर्षीय लोकबहादुर मोक्तान छन् । उनले शुक्रबार साँझ मादक पदार्थ सेवन गरी सामान्य विवादमा आफ्ना ७६ वर्षीय बुबा मनबहादुर मोक्तानमाथि खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेका मनबहादुरको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
लोकबहादुरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए ।

























