
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरिएको १० हजार दर्शक क्षमताको प्रदेश रङ्गशाला दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न तयार भएको छ ।
पटक–पटक मिति सर्दै आएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने तय भएको छ । प्रतियोगिताका लागि सङ्घीय सरकार, राष्ट्रिय खेलकुद परिषद् र कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले तयारी तीव्र पारेका छन् ।
प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिएको रङ्गशालाको काम सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन तथा समापन समारोह यही रङ्गशालामा आयोजना हुनेछ । आधुनिक पूर्वाधारसहित निर्माण गरिएको रङ्गशालाले राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दशौँ राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ गरी ११ टोली सहभागी हुनेछन् । प्रतियोगितामा ३२ खेल विधामा प्रतिस्पर्धा हुनेछ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा सम्पन्न भएपछि दशौँ प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशले पाएको थियो । प्रतियोगिताको तयारीसँगै प्रदेशमा खेलकुद गतिविधि र चहलपहल बढेको छ ।



















