
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको बिक्री वितरणलाई पारदर्शी बनाउन सबै ग्यास उद्योगलाई अनिवार्य रूपमा भ्याट बिल (बिजक) जारी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।
ग्यास बिक्री गरेपछि ग्राहक तथा डिलरलाई बिलबिजक उपलब्ध नगराइएको भन्दै विभिन्न गुनासो आएपछि निगमले यस्तो निर्देशन दिएको हो । उद्योगबाट नियुक्त भएका कतिपय ग्यास बिक्रेताले बिक्री कारोबारको बिल जारी नगर्ने गरेको गुनासो प्राप्त भएपछि निगमले सम्बन्धित उद्योगहरूलाई पत्राचार गर्दै व्यवस्था कार्यान्वयन गर्न भनेको छ ।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले सबै ग्यास उद्योगलाई पठाएको पत्रमा बिक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गरी ग्यास बिक्री वितरण गर्नुपर्ने उल्लेख गरिएको छ ।
पत्रमा भनिएको छ, ‘उद्योगहरूबाट नियुक्त भएका कतिपय बिक्रेताहरूले ग्यास बिक्री गरेपश्चात् बिल बिजक जारी गर्ने नगरेको भन्ने गुनासो आएको हुँदा अनिवार्य रूपमा बिक्रेतालाई भ्याट बिल जारी गरी ग्यासको बिक्री वितरणको व्यवस्था मिलाउन अनुरोध छ ।’
निगमले यसअघि पनि उक्त व्यवस्था कार्यान्वयनका लागि सम्बन्धित सङ्घहरूलाई पत्राचार गरिसकेको जनाएको छ । कारोबारको अभिलेख व्यवस्थित गर्ने, बजारमा पारदर्शिता कायम गर्ने तथा सम्भावित राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यले उद्योगहरूलाई बिलबिजक जारी गर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सचेत गराइएको हो ।
निगमको निर्देशन कार्यान्वयनमा आएमा ग्यास बिक्री कारोबारको अभिलेखीकरण व्यवस्थित हुनुका साथै कारोबारमा पारदर्शिता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




















