चक्रवातको जोखिमः मोरङमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ९, सोमबार १८:१३

विराटनगर । बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र चक्रवातमा परिणत भई नेपालमा समेत भारी वर्षा गराउन सक्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय मोरङले उच्च सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले सोमबार सूचना जारी गर्दै आगामी कात्तिक ११ गते बुधबारदेखि १५ गते आइतबारसम्म मौसम प्रभावित हुन सक्ने भन्दै सम्भावित विपद्बाट जोगिन पूर्वतयारी अवस्थामा रहन आग्रह गरेको हो । नेपाल मौसम विज्ञान विभागले कात्तिक ६ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा विकसित न्यून चापीय क्षेत्र क्रमशः बलियो हुँदै कात्तिक ९ गते सोमबार चक्रवातमा परिणत हुने सम्भावना छ ।

उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशाको आसपासको तटबाट जमिनमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ । यस मौसम प्रणालीका कारण नेपालमा भारी वर्षा हुन सक्ने र त्यसले नदी तथा खोलामा पानीको बहाव बढाउनुका साथै आकस्मिक बाढी, पहिरो, गेग्रान बहाव र डुबानको जोखिम निम्त्याउन सक्ने प्रशासनले जनाएको छ । वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।

प्रशासनले नदी तथा खोला किनार, पहिरोको जोखिम भएका क्षेत्र, भिरालो जमिन र डुबान हुन सक्ने स्थानमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन भनेको छ । जोखिमको संकेत देखिएमा ढिलाइ नगरी नजिकको सुरक्षित स्थानमा जान र स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरिएको छ ।

त्यस्तै, अति आवश्यक कामबाहेक लामो दूरी तथा रातको समयमा यात्रा नगर्न, यात्रा गर्नुअघि सडक र मौसमको अवस्था बुझ्न तथा मौसम पूर्ण रूपमा नखुलेसम्म अन्नबाली काट्ने योजना नबनाउन प्रशासनले अनुरोध गरेको छ । काटिसकेको अन्नबाली सुरक्षित स्थानमा राख्नसमेत भनिएको छ ।

सम्भावित विपद्का बेला बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिन र पशुचौपाया, खाद्यान्न, औषधि, महत्त्वपूर्ण कागजातलगायत आवश्यक सामग्री सुरक्षित स्थानमा राख्न प्रशासनले आग्रह गरेको छ । नेपाल मौसम विज्ञान विभाग, संघीय तथा प्रदेश सरकार, स्थानीय तह र सुरक्षा निकायबाट जारी हुने आधिकारिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीका बारेमा नियमित जानकारी लिन र सम्बन्धित निकायका निर्देशन पालना गर्न पनि सूचनामा भनिएको छ ।

मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई आवश्यक पूर्वतयारी अवस्थामा रहन र जोखिममा रहेका नागरिकलाई समयमै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरेका छन् । प्रशासनले वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरी बलका लागि १११४ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।

तपाइको प्रतिक्रिया
चक्रवातको जोखिमः मोरङमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
चीनको ग्लोबल गभर्नेन्स फोरममा सहभागी भएर फर्किइन् विद्यादेवी भण्डारी
जापानको राजनीतिमा तीन दशक प्रभाव जमाएका पूर्वप्रधानमन्त्री फुकुदाको निधन
ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य गर्न आयल निगमको निर्देशन
चक्रवात ‘अर्णव’को प्रभाव कोशीसहित चार प्रदेशमा, बिहीबारदेखि भारी वर्षा र हिमपातको सम्भावना
झापाको एक घरबाट ८ लाख रुपैयाँ बराबरको धनमाल चोरी
सुरु भयो एनपीएल, उद्घाटन खेलमा टस जितेर बलिङ गर्दै लुम्बिनी
निर्वाचनको मुखमा टिकट बाँड्ने र खोस्ने काम अब हुँदैनः थापा
बेलायतका नेपालीले दिए बाढीपीडितका लागि एक करोड
कोशी प्रदेश : पर्यटन वर्षमा करोडौँ खर्च, पर्यटक आगमन भने २२ प्रतिशतले घट्यो
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×