
इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बान्द्रेटोलस्थित एक घरबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ । बन्दुक लुकाएर राखेको आरोपमा प्रहरीले घरधनी ५० वर्षीय मंगल सिंह राईलाई नियन्त्रणमा लिएको छ ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार राईको घरमा हातहतियार लुकाएर राखिएको विशेष सूचना प्राप्त भएपछि सोमबार साँझ प्रहरी टोलीले खानतलासी गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट संयुक्त रूपमा खटिएको टोलीले राईको घरकोठामा खानतलासी गर्दा भान्सा कोठाको सिलिङमा लुकाएर राखिएको एक नाले भरुवा बन्दुक फेला पारेको डीएसपी खड्काले बताए ।
प्रहरीले बन्दुक बरामद गर्नुका साथै राईलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेको छ । इन्स्पेक्टर विक्रमबहादुर भट्टराई नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

























