फाइल फोटो ।विराटनगर । मोरङको जहदा गाउँपालिकाबाट २८ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ परेका छन् ।
जहदा गाउँपालिका–७ स्थित झोलुंगे पुलमा सोमबार साँझ सशस्त्र प्रहरीले चेकजाँचका क्रममा २८ किलो ४५० ग्राम गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल, बीओपी तारिगामाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक प्रयोजन घिमिरेको कमान्डमा खटिएको टोलीले लक्ष्मीनियाबाट झोलुंगे पुलतर्फ आउँदै गरेको को १–०२–००३ अ ६४९६ नम्बरको सीटी सफारीलाई चेकजाँच गरेको थियो ।
जाँचका क्रममा सफारीमा लुकाएर राखिएको अवस्थामा गाँजासहित एक कार्टुन अर्ना बियर फेला परेको प्रहरीले जनाएको छ । गाँजासहित सफारी र चालक जहदा–७ का २४ वर्षीय देव मण्डललाई नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ ।
मण्डललाई बरामद गाँजा, बियर र सफारीसहित सशस्त्रले सोमबार राति जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाएको छ । घटनाको थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।

























