जातीय र धार्मिक द्वन्द्व फैलाउने प्रयास हुन सक्ने आनी छोइङको चिन्ता

Share this
779shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार ०८:१९

काठमाडौं । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माले आफूविरुद्ध लगाइएका आरोपको सत्यतथ्य सम्बन्धित निकायमा पुगेर बुझ्न आग्रह गरेकी छन् । उनले आफ्नो नियुक्तिलाई लिएर भइरहेको विवादमा समर्थन र विरोधका नाममा जातीय तथा धार्मिक घृणा फैलाउने अभिव्यक्ति नदिन पनि आग्रह गरेकी छन् ।

सोमबार फेसबुकमार्फत भिडियो वक्तव्य सार्वजनिक गर्दै आनी छोइङले आफूविरुद्ध नागरिकता, सम्पत्ति शुद्धीकरण र १८ करोड रुपैयाँसँग सम्बन्धित आरोप लगाएर बदनाम गर्न खोजिएको बताइन् । यस्ता विषयमा प्रश्न उठाउनेले सम्बन्धित सरकारी निकायमा पुगेर सत्यतथ्य बुझ्नुपर्ने उनको भनाइ छ ।

‘मेरो कारणले कहीँ कतै घृणा फैलिने काम नहोस् । द्वन्द्व फैलिने काम नहोस्,’ उनले भनेकी छन्, ‘जातीय घृणा फैलाउनुजस्तो डरलाग्दो अरू केही हुँदैन । यो हाम्रै देशका निम्ति घातक कुरा हो ।’ आफूलाई समर्थन गर्ने क्रममा अन्य जातजाति वा सम्प्रदायलाई अपमान गर्ने खालका अभिव्यक्ति आएको भन्दै उनले त्यसप्रति चिन्ता व्यक्त गरिन् । यस्ता अभिव्यक्तिले जातीय तथा धार्मिक द्वन्द्व फैलाउन सक्ने सम्भावना देखेको उनले बताइन् ।

आफूविरुद्ध उठेका नागरिकतासम्बन्धी प्रश्नको जवाफ खोज्न नागरिकता जारी गर्ने सम्बन्धित निकायमा र सम्पत्ति शुद्धीकरणसम्बन्धी विषय बुझ्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा जान उनले आग्रह गरिन् । पैसासम्बन्धी विषयमा नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायमा पुगेर सत्यतथ्य बुझ्न पनि उनको सुझाव छ ।

‘बदनियतबाट परिचालित भएर, पैसामा लालायित भएर अर्काको छवि ध्वस्त पार्छु भन्ने सोच बोकेर काम नगर्नुस्,’ उनले भनिन् । सामाजिक सञ्जालमा अपुष्ट कुरा फैलाउँदा सर्वसाधारणमा भ्रम र आक्रोश बढ्न सक्ने तथा एकअर्काबीच द्वन्द्व निम्तिन सक्ने उनको चिन्ता छ ।

आनी छोइङले आफू नेपालमै बसेर देशको सेवा र साधना गर्न चाहेको बताइन् । बुद्ध जन्मेको देशमा जन्मिन पाउनुलाई सौभाग्य मानेको उल्लेख गर्दै उनले आफ्नो कर्म र धर्म यहीँ गर्ने बताइन् ।

आफूलाई विश्वास र शुभेच्छा व्यक्त गर्नेहरूप्रति आभार व्यक्त गर्दै उनले जिम्मेवारीमा खरो उत्रिने प्रतिबद्धता जनाइन् । ‘आहा, हाम्रो यो चेलीले यो देशलाई राम्रो सेवा गर्‍यो भनेर गर्व गर्ने वातावरण म बनाउनेछु,’ उनले भनिन् । उनले आगामी दिनमा आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्न सबैको आशीर्वाद, शुभेच्छा र सहयोगको अपेक्षा पनि गरेकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×