
इलाम । चक्रवात ‘अर्णव’का कारण मौसम प्रतिकूल हुने सम्भावना भएपछि इलाम बजार र सूर्योदय नगरपालिकाको फिक्कल बजारमा सञ्चालन भइरहेका हाउजी (बिंगो) खेल स्थगित गरिएका छन् ।
इलाम हाउजी आयोजक समिति र फिक्कल युनाइटेड क्लबले मौसम अनुकूल नभएसम्म खेल सञ्चालन नगर्ने निर्णय गरेका हुन् । आयोजकमध्येका सुमन श्रेष्ठका अनुसार जोखिमको अवस्था भएकाले तत्कालका लागि खेल स्थगित गर्ने निर्णय भएको हो ।
बंगालको खाडीमा विकसित चक्रवात ‘अर्णव’का कारण कात्तिक ११ देखि १५ गतेसम्म विपद्जन्य जोखिम हुन सक्ने भन्दै नेपाल सरकारको गृह मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयले भिडभाडयुक्त गतिविधि नगर्न र यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।
इलाममा वर्षौँदेखि सञ्चालन हुँदै आएको हाउजी खेल मनोरञ्जनसँगै सामाजिक सद्भाव बढाउने र सामाजिक कामका लागि सहयोग जुटाउने माध्यमका रूपमा पनि स्थापित छ । यसबाट प्राप्त सहयोगले इलाममा नेपाल पत्रकार महासंघको भवन, चोकबजारस्थित प्रहरी–पब्लिक टावर र ब्लड बैंक भवन निर्माणमा योगदान पुगेको छ ।
त्यस्तै, फिक्कलमा खेलमैदानका लागि जग्गा खरिद तथा निर्माण कार्यमा पनि हाउजीबाट सहयोग गरिएको आयोजकले जनाएका छन् ।
मौसम अनुकूल भएपछि खेल पुनः सञ्चालन गरिने र त्यसको मिति तथा समयबारे जानकारी गराइने आयोजकले बताएका छन् ।



















