जनकपुरलाई १९ रनले हराउँदै कर्णाली याक्सको विजयी सुरुवात

Share this
693shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १०, मंगलबार २१:०१

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स १९.३ ओभरमा ११३ रनमा अलआउट भयो ।

जनकपुरका अभिषेक तिवारीले सर्वाधिक २० रन बनाए । कप्तान हर्मीत सिंह र मोइन अलीले समान १९ रन जोड्दा जिम्मी निशमले १५, मायन यादवले १४ र अनिलकुमार शाहले ११ रन बनाए । कुशल परेवा ६, तृतराज दास एक र ललित राजवंशी एक रनमा आउट भए । आदित्य मेहता रन नजोडी आउट हुँदा राहुल यादव एक रनमा अविजित रहे ।

कर्णालीका युनिस ठकुरी र हुसेन तलतले समान तीन विकेट लिए । युनिसले चार ओभरमा एक मेडनसहित तीन विकेट लिएका थिए । उनले एकै ओभरमा जनकपुरका कप्तान हर्मीत र जिम्मी निशमलाई आउट गरे । नन्दन यादवले दुई तथा कप्तान सोमपाल कामीले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो । ओपनर अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बलमा चार चौका प्रहार गरे ।

कर्णालीले सुरुवातमै विकेट गुमाएको थियो । पहिलो ओभरको अन्तिम बलमा मार्क वाट एक रन बनाएर आउट भए । चार रनमा पहिलो विकेट गुमाएको कर्णालीले थप १४ रन जोड्दा दोस्रो विकेट गुमायो ।

एनपीएलमा डेब्यु गरेका जनकपुरका आइकोनिक खेलाडी राहुल यादवले पहिलो बलमै दीपक डुम्रेलाई आउट गरे । डुम्रे १३ रनमा आउट भए । कर्णालीले ३७ रन बनाउँदा तेस्रो विकेटका रूपमा हुसेन तलत तीन रनमा आउट भए ।

त्यसपछि पवन सर्राफ र अरिफुल इस्लामले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै कर्णालीको इनिङ्स उकास्ने प्रयास गरे । अरिफुल ४३ र पवन ३७ रन बनाएर आउट भए । पवनले ३७ बल खेले । त्यसपछि अक्बर अली र कप्तान सोमपाल कामी समान एक रनमा आउट भए भने गुल्सन झाले १२ रन बनाए । नन्दन यादव नौ रनमा आउट हुँदा युवराज खत्री र युनिस ठकुरी अविजित रहे ।

जनकपुरका कप्तान हर्मीत सिंहले तीन विकेट लिए । मोइन अली र राहुल यादवले समान दुई तथा ललित राजवंशीले एक विकेट लिए । एनपीएलमा मंगलबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×