धरानमा तस्करीको सामानसहित मिनी ट्रक नियन्त्रणमा

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार ०६:५८

धरान । सुनसरीको धरानमा भन्सार छली गरी तस्करीमार्फत ल्याइएको करिब ९ लाख ८२ हजार ५०० रुपैयाँ बराबरको किराना तथा खाद्यान्न सामानसहित मिनी ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धरान उपमहानगरपालिका–८ तीनकुनेमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तीनकुनेबाट संयुक्त रूपमा खटिएको टोलीले बुधबार साँझ तस्करीको सामानसहित ट्रक नियन्त्रणमा लिएको हो । इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ ख १६१८ नम्बरको मिनी ट्रक चेकजाँच गर्ने क्रममा भन्सार छली गरेर ल्याइएको किराना तथा खाद्यान्न सामान फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले सामान र ट्रकसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मिनी ट्रकका चालक विराटनगर महानगरपालिका–४ का २५ वर्षीय प्रदीपकुमार साह तथा सहचालकहरू मोरङको जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र ४२ वर्षीय कात्तिक राजवंशी रहेका छन् ।

नियन्त्रणमा लिइएका सामान, मिनी ट्रक र तीनै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×