झापा महिला गोल्डकपमा आधुनिक रिङलक प्यारापिट, दुई हजार दर्शक अट्ने

Share this
630shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १२, बिहीबार ०९:३३
झापा महिला गोल्डकपमा आधुनिक रिङलक प्यारापिट, दुई हजार दर्शक अट्ने

बिर्तामोड । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा आयोजना हुने दोस्रो संस्करणको झापा महिला गोल्डकपलाई लक्षित गर्दै दुई हजार दर्शक क्षमताको आधुनिक अस्थायी प्यारापिट निर्माण गरिएको छ । रिङलक प्रविधिमा आधारित उक्त प्यारापिट नेपालमै पहिलोपटक प्रयोग गर्न लागिएको आयोजकले जनाएको छ ।

मैदानको पूर्वतर्फ जडान गरिएको प्यारापिट ग्याल्भनाइज्ड स्टिलका पाइप, रिङलक प्रणाली र प्लेटफर्म प्रयोग गरेर तयार पारिएको हो । झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुसार मंसिर ५ गतेदेखि सुरु हुने प्रतियोगितालाई लक्षित गरी निर्माण गरिएको यो संरचनाले दर्शकको क्षमता विस्तार गर्नुका साथै खेल अवलोकनलाई थप व्यवस्थित बनाउनेछ ।

प्यारापिटका सञ्चालक सुमन भण्डारीका अनुसार यो संरचना छ तहको हुनेछ । यसमा प्रयोग गरिने ६ गुणा ४ फिटको एउटा प्लेटफर्मले दुई हजार किलोग्रामसम्म भार धान्न सक्ने उनको दाबी छ । दर्शकले प्यारापिटमा बसेर खेल हेर्नुका साथै उभिएर हुटिङ गर्दै खेलाडीको हौसला बढाउन सक्नेछन् ।

आवश्यकताअनुसार जडान गर्न र प्रतियोगिता सम्पन्न भएपछि फुकालेर अन्यत्र लैजान सकिने भएकाले रिङलक प्रविधिको प्यारापिट ठूला खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा कन्सर्टका लागि उपयोगी मानिन्छ । स्थायी संरचना निर्माण नगरी आवश्यकताअनुसार दर्शकदीर्घा तयार गर्न सकिने यसको प्रमुख विशेषता हो ।

भण्डारीका अनुसार प्यारापिटको इन्जिनियरिङ डिजाइन, भार परीक्षण, रेलिङ, भ¥याङ, आपत्कालीन निकास तथा सुरक्षा प्रमाणीकरणको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल सम्पन्न भएपछि संरचना फुकालेर अन्यत्र लैजाने तयारी रहेको उनले बताए ।

दुधे रंगशालाको पश्चिमतर्फ स्थायी प्यारापिट छ भने पूर्वतर्फ रिङलक प्रविधिको अस्थायी प्यारापिट निर्माण गरिएको छ । उत्तर र दक्षिणतर्फ बाँसका अस्थायी प्यारापिट निर्माण गर्ने तयारीसमेत भइरहेको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि रंगशालाको दर्शक क्षमता बढाउनुका साथै दर्शक व्यवस्थापनलाई पनि प्राथमिकतामा राखिएको छ ।

यसपटक टिकट व्यवस्थापन, दर्शकको प्रवेश तथा निकास, पार्किङ र सुरक्षा व्यवस्थालाई थप व्यवस्थित बनाइने अध्यक्ष थोप्राले जानकारी दिए । विगतका प्रतियोगितामा देखिएका कमजोरी सुधार गर्दै यस वर्ष व्यवस्थापनमा नयाँ रणनीति अपनाउन लागिएको उनको भनाइ छ ।

प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । नेपाल, भारत र भुटानलगायत देशका आठ टोलीको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल मंसिर १२ गते हुने सचिवालय प्रमुख हिमाल खरेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×