
विराटनगर । मोरङको बेलबारी नगरपालिका-६ सोमबारेस्थित सडक खण्डमा प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी सोमबारेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मंगलबार ३० किलो ९९० ग्राम लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीले प्र.१–०२–०४० प ९१९१ नम्बरको मोटरसाइकललाई शंका लागि रोकी चेकजाँच गर्दा उक्त परिमाणको गाँजा र ६३ हजार ५०५ रूपैयाँ फेला पारेको हो । पक्राउ पर्नेहरूमा मोटरसाइकल चालक धनकुटाको चौबिसे गाउँपालिका–७ का ३५ वर्षीय आइतबहादुर राई र सन्देश परियार छन् ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उनीहरूलाई मोटरसाइकल र लागू औषध गाँजासहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, बेलबारीमा ल्याएर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

























