कांग्रेस जिल्ला र प्रदेश अधिवेशन मंसिरमा

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक ११, बुधबार ११:१७

काठमाडौं । नेपाली कांग्रेसले बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन मंसिर मसान्तसम्म सम्पन्न गर्ने भएको छ । अधिवेशनको मिति भने नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले तय गर्ने महामन्त्री उदयशमशेर राणाले बताए ।

राणाका अनुसार केन्द्रीय कार्यसमितिको बैठकबाट अधिवेशनको मिति टुङ्गो लगाइनेछ । अधिवेशन छठलगत्तै वा मंसिर अन्तिमतिर हुन सक्ने उनले बताए । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको शपथग्रहणपछि बिहीबार बैठक बस्ने तयारी छ ।

कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरेको थियो । त्यसबेला समयको चापका कारण जिल्ला र प्रदेश अधिवेशन बाँकी राखेर वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधि सभा क्षेत्रका अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गरिएको थियो ।

एउटा मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन भइसकेको छ । बाँकी ४२ जिल्लामा अधिवेशन हुन बाँकी रहेको छ । निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन हुने भएकाले एउटा निर्वाचन क्षेत्र भएका जिल्लामा मात्रै पहिले अधिवेशन गरिएको थियो ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले पनि जिल्ला र प्रदेश अधिवेशनको मिति नवनिर्वाचित केन्द्रीय कार्यसमितिले तय गर्ने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×