
विराटनगर । विराटनगर जेसीजको वार्षिक कार्यक्रम ‘जेसीज सप्ताह २०२६’ मैत्रीपूर्ण फुटसल प्रतियोगिताबाट सुरु भएको छ । पहिलो दिन मंगलबार आयोजित खेलमा पत्रकारको टोलीले विराटनगर जेसीजलाई ७-६ गोलले पराजित गरेको छ ।
विराटनगरस्थित विराट स्पोर्ट्स जोनमा भएको खेलमा दुवै टोलीले प्रतिस्पर्धात्मक प्रदर्शन गरेका थिए । खेलमा पत्रकारको टोलीले सात गोल गर्दा जेसीजको टोलीले छ गोल गरेको थियो ।
पत्रकार र जेसीज सदस्यबीच आपसी सद्भाव, भाइचारा र सम्बन्ध सुमधुर बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । विराटनगर जेसीज ट्रस्ट बोर्डका अध्यक्ष टीकाराज ढकाल र क्लबका अध्यक्ष कैलाश खाकी श्रेष्ठ विशिष्ट अतिथि थिए ।
त्यस्तै, विराटनगर जेसीजका पूर्वअध्यक्ष टीपी आचार्य र सेवक बजगाईं, बोर्डका पदाधिकारी, जुनियर जेसीजका सदस्य तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उपस्थिति थियो । विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन पंकज मेहताले गरेका थिए ।
जेसीज सप्ताहअन्तर्गत आगामी दिनमा विभिन्न कार्यक्रम आयोजना गरिने सप्ताहका मुख्य संयोजक तथा वरिष्ठ कार्यकारिणी उपाध्यक्ष रञ्जनकुमार शाहीले जानकारी दिए । उनका अनुसार सप्ताहको अन्तिम दिन विराटनगरस्थित होटल स्वागतममा ‘जेसीज नाइट’ आयोजना गरिनेछ ।

























