
विराटनगर । सुनसरीमा लागुऔषधविरुद्धको कारबाहीका क्रममा ब्राउन सुगर (खैरो हेरोइन)सहित तीन जना र औषधिजन्य लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार जिल्लाका विभिन्न स्थानमा गरिएको चेकजाँच तथा खानतलासीका क्रममा उनीहरू पक्राउ परेका हुन् । कोशी गाउँपालिका–१ लौकहीस्थित पूर्व–पश्चिम राजमार्गमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले इलामको चुलाचुली गाउँपालिका–५ का ४२ वर्षीय यामकुमार राईलाई पक्राउ गरेको छ ।
पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका राईलाई शंका लागेर चेकजाँच गरिएको थियो । उनको साथबाट दुई ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, धरान उपमहानगरपालिका–८ अरुण टोलस्थित फलामे पुलमा लागुऔषध बिक्रीवितरण भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले स्थानीय ३१ वर्षीया सलिना राईको घरकोठा खानतलासी गरेको थियो । अस्थायी प्रहरी चौकी बरगाछी र तीनकुनेबाट संयुक्त रूपमा खटिएको टोलीले उनको साथबाट ०.८५ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।
यसैगरी, धरान–५ गैरीगाउँमा लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र अस्थायी प्रहरी चौकी देउरालीबाट खटिएको संयुक्त टोलीले स्थानीय ३६ वर्षीय अमिर सार्कीलाई पक्राउ गरेको छ । उनको कोठा खानतलासी गर्दा ०.४ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै, इटहरी उपमहानगरपालिका–११ सम्झना टोलमा चेकजाँचका क्रममा मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का २७ वर्षीय अरुण माझी पक्राउ परेका छन् । प्रहरी चौकी खनारबाट खटिएको टोलीले प्रदेश १–०२–०४१ प २५४६ नम्बरको मोटरसाइकलमा सवार माझीको साथबाट ट्रामाडोल ८१० क्याप्सुल र डाइकोलोमिन ८०० ट्याब्लेट बरामद गरेको छ । प्रहरीले लागुऔषध र मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका चारै जनालाई सम्बन्धित प्रहरी कार्यालयमार्फत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

























