
विराटनगर । कोशी प्रदेश सरकारले कात्तिक २५ गतेलाई प्रदेश भाषा दिवसका रूपमा मनाउने निर्णय गरेको छ । प्रदेशमा सरकारी कामकाजको भाषा ऐन, २०८३ सोही दिनदेखि कार्यान्वयनमा ल्याउने निर्णय गर्दै सरकारले प्रत्येक वर्ष कात्तिक २५ गते भाषा दिवस मनाउने भएको हो ।
१६औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्तीका अवसर पारेर ऐन कार्यान्वयन गर्न लागिएको हो । शुक्रबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले कात्तिक २५ गतेदेखि ऐन लागू गर्ने र उक्त दिनलाई प्रदेश भाषा दिवसका रूपमा घोषणा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिम मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले बताए ।
उनका अनुसार भाषा दिवसका अवसरमा प्रदेशस्थित नेपाल सरकारका कार्यालय, प्रदेश सरकारका कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायका कार्यालयमा दीपावली गर्ने निर्णयसमेत मन्त्रिपरिषद् बैठकमा भएको छ । साथै, प्रदेश सरकारले सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संघसंस्था तथा नागरिक समाजलाई पनि उक्त दिन दीपावली गर्न आह्वान गरेको छ ।
यसअघि कोशी प्रदेशसभाले सरकारी कामकाजको भाषासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८३ असोज २४ गते सर्वसम्मत रूपमा पारित गरेको थियो । विधेयकलाई प्रदेश प्रमुख परशुराम खापुङले प्रमाणीकरण गरिसकेका छन् । प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै यसले कानुनको रूप लिएको छ ।
विधेयकले नेपाली भाषाका अतिरिक्त मैथिली, लिम्बू, थारू, तामाङ, मगर, बान्तवा, उर्दू, राजवंशी, राई, नेवार, चाम्लिङ, शेर्पा र सन्थाली भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी व्यवस्था गरेको छ । यसले विभिन्न भाषा, संस्कृति र समुदायबीच समान सम्मानको भावना विकास गर्दै सामाजिक एकता थप सुदृढ गर्न पनि यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यसैबीच, मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार कार्यविभाजन पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, पर्यटकीय पूर्वाधार सञ्चालन, व्यवस्थापन तथा हस्तान्तरणसम्बन्धी कार्यविधि, २०८३ लाई मन्त्रिपरिषद्को आर्थिक, सामाजिक तथा पूर्वाधार समितिमा छलफल गरी पुनः मन्त्रिपरिषद्मा पेस गर्ने निर्णय बैठकले गरेको छ ।



















