नेपाल–भारत सीमा सुरक्षा सहकार्य बढाउने सहमति

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १८:१६

काठमाडौं । नेपाल र भारतले सीमा क्षेत्रमा हुने अवैध गतिविधि तथा सीमापार अपराध नियन्त्रणका लागि सुरक्षा सहकार्य बढाउने सहमति गरेका छन् । काठमाडौंमा दुई दिनसम्म चलेको नेपाल-भारत १०औँ समन्वय बैठकमा सीमा सुरक्षासम्बन्धी अघिल्ला निर्णयको प्रगति समीक्षा गर्दै रणनीतिक, कार्यगत र परिचालन तहमा सहकार्य अभिवृद्धि गर्ने समझदारी भएको हो ।

बैठकले दशगजा क्षेत्रको व्यवस्थापन प्रभावकारी बनाउन अनधिकृत खेतीपाती, अतिक्रमण र अवैध संरचना हटाउने संयुक्त प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । सीमास्तम्भको मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि पनि सम्बन्धित संयन्त्रका निर्णयअनुसार स्थलगत समन्वय बढाउने सहमति भएको सशस्त्र प्रहरीका प्रवक्ता नेत्रबहादुर कार्कीले जानकारी दिए ।

सीमापार आपराधिक सञ्जाल, तस्करी, मानव बेचबिखन, नक्कली नोट र लागूपदार्थको कारोबार नियन्त्रणका साथै तेस्रो मुलुकका नागरिकको अनधिकृत आवतजावत रोक्न समयमै सूचना आदानप्रदान गर्ने प्रतिबद्धता दुवै पक्षले जनाएका छन् । यसका लागि सीमा नाकामा जाँच तथा कागजात प्रमाणीकरण कडा बनाउने, दशगजा क्षेत्रमा समन्वयात्मक गस्ती गर्ने र शंकास्पद व्यक्तिबारे तत्काल सूचना साझा गर्ने सहमति भएको छ ।

सीमा सुरक्षामा आधुनिक प्रविधि र विशेष तालिमको सहयोग विस्तार गर्ने विषयमा पनि छलफल भएको छ। दशगजा क्षेत्रको निगरानीका लागि सीसीटीभी, प्रमुख सीमा नाकामा लगेज स्क्यानर तथा वाक-थ्रु मेटल डिटेक्टर राख्ने र आआफ्नो भूभागमा ड्रोनको प्रयोग बढाउने विषय बैठकमा उठाइएको प्रवक्ता कार्कीले बताए ।

प्राकृतिक विपद् व्यवस्थापनका लागि चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयमा संयुक्त जलउद्धार अभ्यास सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ । वैधानिक यात्रुलाई सहज बनाउन सीमा नाकामा सहायता कक्ष विस्तार गर्ने तथा मैत्रीपूर्ण खेलकुद, अन्तर्राष्ट्रिय दिवस र प्रमुख चाडपर्वका अवसरमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सहमति पनि भएको छ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय प्रतिनिधिमण्डलको नेतृत्व सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिङ्घलले गरेका थिए । सन् २०१२ देखि नेपाल र भारतमा पालैपालो समन्वय बैठक हुँदै आएको छ। आगामी बैठक भारतमा आयोजना हुनेछ । बैठकले सीमा क्षेत्रको शान्ति र सुरक्षा कायम गर्न दुवै देशका सुरक्षा निकायका इकाइले देखाएको व्यावसायिकता र सहकार्यको प्रशंसा गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.