नावा खोलामा बस फस्यो, सडक ठप्प

Share this
729shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १३, शुक्रबार १७:५६

पाँचथर । बाढी उर्लिएको खोला पार गर्न खोज्दा यात्रुबाहक बस फसेपछि तमोर करिडोर सडक अवरुद्ध भएको छ । पाँचथर र धनकुटाको सीमावर्ती क्षेत्रमा पर्ने नावा खोलामा शुक्रबार अपराह्न बस फसेको हो ।

ताप्लेजुङबाट काठमाडौंका लागि छुटेको बसमा करिब ३० जना यात्रु सवार थिए । खोलामा पानीको बहाव बढिरहेका बेला पार गर्न खोज्दा बस बीचमै अड्किएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बस फसेपछि यात्रुहरूलाई स्काभेटरको सहायताले सुरक्षित स्थानमा निकालिएको स्थानीय रोशन कार्कीले बताए । यात्रुहरूको उद्धार गरिए पनि बस निकाल्न र सडक सञ्चालन गर्न सकिएको छैन ।

बिहीबार बिहानदेखि परेको निरन्तर वर्षाले नावा खोलामा पानीको सतह बढेपछि यातायात पूर्ण रूपमा ठप्प भएको हो । खोलामा बाढी आउँदा सडक नै बन्द हुने समस्या यस क्षेत्रमा नियमितजस्तै बनेको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङ, सुनसरी र तराईका अन्य जिल्लालाई धनकुटा, पाँचथर, तेह्रथुम हुँदै ताप्लेजुङसँग जोड्ने तमोर करिडोरको महत्वपूर्ण खण्डमा पर्ने नावा खोलामा अझै पुल निर्माण भएको छैन । पुल नहुँदा सामान्य वर्षामै खोलामा बाढी आउनासाथ यातायात अवरुद्ध हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.