गेमिङ र आईटी क्षेत्रलाई उद्योगका रूपमा विकास गर्ने सरकारको तयारी

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार १२:२८

काठमाडौं । सरकारले गेमिङ तथा सूचना प्रविधि (आईटी) क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नीतिगत पुनरावलोकन र आवश्यक गृहकार्य थालेको छ । प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत यस क्षेत्रका समस्या समाधान र प्रवर्द्धनका लागि सरकारले नीतिगत सुधारको तयारी गरिरहेको जानकारी दिएका हुन् ।

उनले नेपालमै विकसित गेमिङ एपले विश्व बजारमा सफलता पाइरहेको उल्लेख गर्दै ‘लुडो’ करिब २० करोड पटक र ‘कल ब्रेक’ १५ करोडभन्दा बढी पटक डाउनलोड भएको बताए। नेपाली युवाले विकास गरेका यी खेलले अन्तर्राष्ट्रिय बजारमा पहिचान बनाएको र सयौँ युवा अहिले पनि गेम विकासमा सक्रिय रहेको उनको भनाइ छ । प्रधानमन्त्री शाहले गेमिङ डेभलपरहरूसँग छलफल गरी उनीहरूका समस्या र चुनौतीबारे जानकारी लिएको पनि बताएका छन् ।

नेपालबाटै विश्वस्तरीय कम्पनी स्थापना गर्न सहज वातावरण बनाउने सरकारको योजना रहेको उनले उल्लेख गरेका छन् । आईटी उत्पादन तथा सेवा निर्यात गर्ने कम्पनीलाई आम्दानी गर्न र पुनः लगानी गर्न प्रोत्साहित गर्ने गरी कर प्रणाली सहज बनाउने तथा नीतिगत सुधार गर्ने तयारी छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय कारोबार र आम्दानीसँग सम्बन्धित परम्परागत तथा कडा नियमलाई थप सहज बनाइने प्रधानमन्त्री शाहले बताएका छन्। गेमिङ र समग्र आईटी क्षेत्रको विकासका लागि गेम जाम, स्टार्टअप कार्यक्रम तथा ह्याकाथनजस्ता गतिविधिमा लगानी गर्ने सरकारको योजना छ । यसका लागि आईटी क्षेत्रका प्रतिनिधि, नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच नियमित छलफलको व्यवस्था मिलाइने उनले बताएका छन् ।

नेपाली प्रतिभालाई विश्व बजारमा स्थापित गराउन सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री शाहले नेपालको आईटी तथा गेमिङ क्षेत्रको सम्भावनालाई उपयोग गर्ने गरी काम अघि बढाइने बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.