
काठमाडौं । सिरहामा नक्कली नेपाली नोटको कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट २५ हजार ५ सय रुपैयाँ नेपाली नक्कली नोट बरामद भएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार बुधबार राति करिब ९ बजेतिर सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडक खण्डमा पैदल हिँडिरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । शंकास्पद अवस्थामा रहेका व्यक्तिहरूको जाँच गर्ने क्रममा नक्कली नोट फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका–८ का ३५ वर्षीय मोहमद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मिया रहेका छन् । उनीहरूको साथबाट ५०० दरका तीन थान र एक हजार दरका २४ थान गरी २७ थान नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ।
दुवै जनालाई बरामद नोटसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























