
बाजुरा । भारी हिमपातपछि बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका-२ का २१ वर्षीय सागर कार्की छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट पाँच जनाको टोली बडीमालिका गएको थियो । तीमध्ये तीन जना बडीमालिका पुगेर फर्किसकेका छन् ।
चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका भगवती मन्दिरको दर्शन गरेर फर्कने क्रममा शुक्रबार मनिष सम्पर्कविहीन भएका थिए । त्यसपछि गए रातिदेखि सागरसँग पनि सम्पर्क हुन नसकेको शाहीले बताए । ‘हिजो सागरसँग फोन सम्पर्क गर्दा बडीमालिकाबाट फर्किने क्रममा साथी हरायो, म त्रिवेणी पाटनमा छु भन्दै हुनुहुन्थ्यो’, शाहीले भने, ‘सो क्षेत्रमा भारी हिमपात भएकाले उहाँहरू अलपत्र पर्नुभएको हुन सक्छ ।’
मनिष हिमपातपछि हराएको र भारी हिउँ परेका कारण तल झर्न नसक्दा सागर पनि अलपत्र परेको हुन सक्ने प्रहरीको अनुमान छ । दुवै जनाको मोबाइल बन्द भएकाले उनीहरूको अवस्थाबारे जानकारी प्राप्त हुन नसकेको शाहीले बताए ।
शुक्रबारदेखि जिल्लामा भइरहेको वर्षाका कारण बडीमालिकासहित उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । प्रतिकूल मौसमका कारण उद्धारमा कठिनाइ हुन सक्ने भन्दै प्रहरीले मार्तडीबाट टोली खटाएर खोजी गर्ने तयारी गरेको जनाएको छ ।

























