स्वास्थ्य केन्द्र उद्घाटन विवादमा गोली चल्यो, एक युवक घाइते

Share this
757shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार १३:०३

बारा । स्वास्थ्य केन्द्र उद्घाटनका विषयमा भएको विवाद उग्र बनेपछि बारामा गोली लागेर एक युवक घाइते भएका छन् ।संघीय सरकारले निर्माण गरेको स्वास्थ्य केन्द्र उद्घाटनका लागि फेटा गाउँपालिकाले शनिबार बिहान कार्यक्रम आयोजना गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ समीक्षा बास्कोटा स्वास्थ्य केन्द्र उद्घाटन गर्न बारा पुगेकी थिइन् ।

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीको विपक्षमा रहेका स्थानीयले स्वास्थ्य केन्द्र परिसरमा राखिएको शिलालेख तोडफोड गरेपछि विवाद चर्किएको थियो । अध्यक्ष अन्सारी पक्षधर र विपक्षी स्थानीयबीचको विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको बताइएको छ ।

गोली लागेर घाइते भएका युवकको पहिचान खुल्न सकेको छैन । प्रहरीले गोली चलाएको घटनाबारे औपचारिक पुष्टि गरेको छैन । इलाका प्रहरी कार्यालय सिमराबाट थप मद्दतका लागि घटनास्थल पुगेका डीएसपी दयाकृष्ण भट्टले स्थिति साम्य बनाउन प्रहरीले प्रयास गरिरहेको बताएका छन् ।

तत्कालीन विवेकशील नेपाली पार्टीबाट निर्वाचित गाउँपालिका अध्यक्ष अन्सारीविरुद्ध उत्रिएको स्थानीयको एउटा समूहले स्वास्थ्य केन्द्र उद्घाटनमा अवरोध गरेपछि विवाद सुरु भएको थियो । गाउँपालिका अध्यक्ष अन्सारीले एमालेका कार्यकर्ता आफ्नो विरोधमा उत्रिएको दाबी गरेका छन् । पूर्वगाउँपालिका अध्यक्ष अमिरिलाल पालको निर्देशनमा घटना भएको उनको आरोप छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.