
मोरङ । तिहारलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका करिब २५ लाख रुपैयाँ मूल्यका सयपत्री फूलका तयारी माला मोरङमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङबाट खटिएको टोलीले शनिबार भारतबाट भन्सारसम्बन्धी आवश्यक कागजातबिना नेपाल भित्र्याइएका फूलका माला नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार बरामद मालाहरू ग्लोबल कोल्ड स्टोर र राधाकृष्ण कोल्ड स्टोरमा भण्डारण गर्ने तयारी भइरहेको थियो । बिल बिजक बिनै भित्र्याइएका ती मालाको अनुमानित बजार मूल्य २५ लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सयपत्री फूलका तयारी माला सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनीमा ल्याएर राखिएको छ।
तिहारमा सयपत्री फूलको माग उच्च हुने भएकाले भारतीय फूलका मालाको अवैध आयातले स्थानीय फूल उत्पादक किसान तथा वैध रूपमा कारोबार गर्ने व्यवसायी प्रभावित हुनसक्ने देखिन्छ। बरामद मालाको सम्बन्धमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।

























