मधेशका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

Share this
690shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक १४, शनिबार १७:४०

जनकपुरधाम । आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा पहुँच सुनिश्चित गर्न मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तार गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । सुरक्षित आवास निर्माणसँगै आवास वित्त, लघु बीमा तथा वित्तीय र डिजिटल साक्षरताको पहुँच विस्तार गर्न सके विपन्न परिवारको आवास सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने सरोकार भएकाहरूको भनाइ छ ।

ह्याबिट्याट फर ह्युम्यानिटी नेपालले जर्सी ओभरसिज एड (जेओए) को आर्थिक सहयोगमा सञ्चालित होम्स नेपाल परियोजनाअन्तर्गत जनकपुरधाममा आयोजना गरिएको ‘वित्तीय समावेशीकरण र सुरक्षित आवासका लागि प्रणाली सुदृढीकरणः चुनौती र अवसरहरू’ विषयक कार्यशालामा सहभागीले सुरक्षित आवासलाई विपद् जोखिम न्यूनीकरणको महत्त्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने बताएका हुन्  ।

कार्यक्रमका मधेश प्रदेशसभा सदस्य सुरिताकुमारी साहले सुरक्षित आवास नागरिकको आधारभूत आवश्यकता भएकाले यसलाई विपद् जोखिम न्यूनीकरणसँग जोडेर अघि बढाउनुपर्ने बताए । आर्थिक अवस्था कमजोर भएका परिवारलाई सुरक्षित आवास निर्माणमा सहयोग पुर्‍याउन सरकार, स्थानीय तह र सम्बन्धित संस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रम मधेस प्रदेशका आठवटै जिल्लामा विस्तार गरी लक्षित समुदायसम्म पुर्‍याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष राजकुमार सिंहले विपन्न समुदायको आवासमा पहुँच पुर्‍याउन आवास कार्यक्रम प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै पछिल्लो समय मधेस प्रदेशमा सञ्चालित आवास कार्यक्रमहरू बनेको बताए ।

तीनै तहका सरकार तथा सरोकारवालाबीच समन्वय सुदृढ गर्दै सुरक्षित आवास, आवाससम्बन्धी वित्तीय सेवा, लघु बीमा र डिजिटल वित्तीय सेवामा समुदायको पहुँच विस्तार गर्ने सम्भावना पहिचान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय तह, प्रदेशस्तरीय निकाय, राष्ट्रिय नियामक संस्था, वित्तीय सेवा प्रदायक तथा विकास साझेदार संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.