
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज (बुधबार) दुईदिने भ्रमणका लागि काठमाडौं आइपुग्दै छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को प्रस्तावित भारत भ्रमणको तयारी र दुई देशबीचको कूटनीतिक संवादलाई अघि बढाउने उद्देश्यले उनको नेपाल भ्रमण हुन लागेको हो ।
भ्रमणका क्रममा मिश्रीले नेपाली समकक्षी परराष्ट्र सचिव अमृतकुमार राईसँग औपचारिक वार्ता गर्ने कार्यक्रम छ । उक्त वार्तामा नेपाल र भारतबीचको राजनीतिक, कूटनीतिक तथा आपसी हितसँग जोडिएका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाल–भारत सम्बन्धका पछिल्ला अवस्था, द्विपक्षीय सहकार्य र आगामी दिनमा सम्बन्धलाई थप प्रभावकारी बनाउने विषय वार्ताको प्राथमिकतामा रहनेछन् । दुई देशबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा पनि दुवै पक्षले धारणा राख्ने अपेक्षा गरिएको छ ।
नेपाल बसाइका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत तय भएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका दृष्टिले पनि मिश्रीको यस भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । भ्रमणका सबै कार्यक्रम सकेर उनी बिहीबार नै नयाँदिल्ली फर्किनेछन् ।



















