
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाका भूमिहीन नागरिकका समस्या, गुनासा र अपेक्षा बुझ्न बस्तीमै पुगेर प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेकी छन् ।
मन्त्री रावलले अर्जुनधारा र मेचीनगर नगरपालिकाका विभिन्न भूमिहीन बस्तीमा पुगेर स्थानीय नागरिकसँग संवाद गरेकी हुन् । भेटघाटका क्रममा उनले नागरिकका समस्या तथा गुनासा सुन्नुका साथै समाधानका लागि सरकारले अघि बढाइरहेका प्रयास र आगामी कार्ययोजनाबारे जानकारी गराइन् ।
त्यस अवसरमा मन्त्री रावलले भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाणपत्र लालपुर्जा वितरण गर्ने प्रक्रियालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरिन् । उनले नागरिकसँग प्रत्यक्ष संवाद गरेर वास्तविक समस्या पहिचान गर्ने र समाधानका लागि आवश्यक पहल गर्ने बताइन् ।
स्थानीय समस्या समाधान गर्न स्थानीय सरकारले गरिरहेको पहलको प्रशंसा गर्दै उनले संघीय सरकार यसमा सहयोगी बन्ने उल्लेख गरिन् । नीतिगत सुधारदेखि लिएर अरु सहयोगका लागि सरकार तयार रहेको उनको भनाइ थियो ।
भूमिहीन नागरिकका समस्या समाधान तथा लालपुर्जा वितरण प्रक्रियालाई प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको मन्त्री रावलको झापा भ्रमण सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।



















