
काठमाडौं । डोल्पास्थित जिल्ला कारागारबाट फरार भएका कैदीमध्ये थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिपुरासुन्दरी नगरपालिका–४ रङ गाउँस्थित स्थानीय कमला बुढाको घरमा लुकिछिपी बसेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।
गत कात्तिक १४ गते बिहान करिब ६ बजे कारागारबाट फरार भएका कैदीहरूको खोजी गर्ने क्रममा प्रहरीले उनीहरूलाई फेला पारेको हो। पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ का २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ का १९ वर्षीय कैलाश भनिने कपिल परियार रहेका छन्।
प्रहरीका अनुसार रोकाय जबरजस्ती करणीसम्बन्धी कसुरमा दोषी ठहर भई ८ वर्ष कैद सजाय भोगिरहेका थिए। त्यस्तै, परियार नकबजनी चोरीसम्बन्धी कसुरमा ३ वर्ष कैद सजाय पाएका कैदी हुन्।
यसअघि पनि प्रहरीले कारागारबाट फरार भएका दुई जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ का २८ वर्षीय रेसम राना रहेका छन्।
कारागारबाट फरार भएका कुल आठ कैदीमध्ये हालसम्म चार जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फरार रहेका बाँकी चार जनाको खोजी तथा पक्राउका लागि प्रहरी परिचालन गरिएको छ।

























