
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका चारै जनाको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।
समितिको बैठकले चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्दको नाम अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
न्यायपरिषद्ले उच्च अदालतका मुख्य न्यायाधीश रहेका उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । चारै जनाको संसदीय सुनुवाइ प्रक्रिया शुक्रबारसम्म सम्पन्न भएको थियो ।
सुनुवाइका क्रममा सांसदहरूले प्रस्तावित न्यायाधीशहरूसँग विभिन्न विषयमा प्रश्न गरेका थिए । सुनुवाइ प्रक्रिया पूरा भएपछि समितिले उनीहरूको नाम अनुमोदन गरेको हो ।
अब राष्ट्रपतिले उनीहरूलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नेछन् ।



















