
काठमाडौं । केही दिनदेखि चिसो हावा चलाइरहेको पश्चिमी वायुको प्रभावले वर्षा पनि सुरु भएको छ । मौसमविद् विनोद पोखरेलका अनुसार डोटीमा शनिबार हल्का वर्षा भइरहेको छ ।
उनका अनुसार शनिबार अपराह्नदेखि पश्चिमी पहाडी भेगसहित अन्य केही स्थानमा बादल लाग्ने र वर्षा हुन सक्ने सम्भावना छ । आइतबारदेखि भने थप स्थानमा हल्का वर्षाको सम्भावना बढेको छ ।
भाइटीकाको दिन काठमाडौंलगायत देशका धेरै ठाउँमा हल्का वर्षा हुन सक्ने पोखरेलले बताएका छन् । त्यसैले बाहिर कार्यक्रम गर्ने वा यात्रा गर्ने योजना बनाएकाहरूलाई मौसमको अवस्थासमेत ख्याल गर्न उनले सुझाव दिएका छन् ।
पोखरेलले दुईवटा मौसम मोडेलमा आधारित दैनिक वर्षाको पूर्वानुमान सार्वजनिक गर्दै वर्षाको स्थान, समय र मात्रा परिवर्तन हुन सक्ने भएकाले नियमित मौसम अपडेट हेर्न आग्रह गरेका छन् ।



















