इटहरी दुर्घटनामा मृत्यु हुने दुई जनाको पहिचान खुल्यो

Share this
727shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २२, आइतबार ११:३२

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१३ स्थित गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा विराटनगर महानगरपालिका-२ का २८ वर्षीय साश्वत पोखरेल र वडा नम्बर ९ का २७ वर्षीय स्पर्श अर्याल रहेका छन् । दुवैको शव विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ । पोस्टमार्टमको तयारी भइरहेको र मृतकका परिवार सम्पर्कमा रहेको जनाइएको छ ।

शनिबार राति करिब पौने १२ बजे कोशी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०४-००१ ख ०००८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई उद्धार गरी उपचारका लागि कोशी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि फरार भएका ट्रक चालक सुनसरीको रामधुनी नगरपालिका–५ का ३९ वर्षीय काशीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । ट्रकसमेत नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले बताएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.