यस्तो छ प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यक्रम

Share this
728shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार १३:५१

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी भ्रमणको कार्यतालिका र सहभागी टोलीबारे जानकारी गराएको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाह मङ्सिर ६ र ७ गते भारत भ्रमणमा रहनेछन् । उनी आइतबार दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत प्रस्थान गर्नेछन् । भ्रमण सकेर सोमबार साँझ ६:३५ बजे सोही वायुसेवाको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ ।

प्रधानमन्त्रीको भ्रमण टोली ३४ सदस्यीय हुनेछ। टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकार तथा विभिन्न मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् । नयाँदिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य पनि टोलीमा रहनेछन् ।

त्यस्तै, निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भारत जानेछन् । भ्रमणको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि आफ्नै खर्चमा भारत जाने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले मङ्सिर ७ गते भारतीय समकक्षी मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । वार्तापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री मोदीले शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक मध्याह्नभोजमा पनि उनी सहभागी हुनेछन् ।

प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यस्तै, आइतबार भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन् । भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन् । दुई देशबीच सम्पर्क सञ्जाल विस्तार र ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम पनि तय भएको छ ।

भ्रमणकै क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल हुनेछ । उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन् । नेपालमा भारतीय लगानी आकर्षित गर्ने, व्यवसायीका चासो र सरोकार सुन्ने तथा लगानी विस्तारका लागि सरकारले अघि सारेका नीतिगत दृष्टिकोण र प्रयासबारे जानकारी गराउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

दुई देशका प्रधानमन्त्रीबीचको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारी पनि छ । प्रधानमन्त्री शाह स्वदेश फर्किएपछि मङ्सिर ७ गते अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री शिशिर खनालले पत्रकार सम्मेलन गरी भ्रमणका विषयवस्तु र उपलब्धिबारे जानकारी गराउने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
विराटनगरका २ हजार २५७ परिवारले पाउँदैछन् ‘गरिब परिचयपत्र’
हाटखोला श्मशान घाटको व्यवस्थापन सुधार्न महानगरको चासो
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री शाह, रविसँग तीन घण्टा छलफल
दोस्रो झापा महिला गोल्डकपको तयारी पूरा, शनिबारदेखि खेल सुरु
मेची–महाकाली पदयात्रामा रहेका सांसद अमरेश सिंहलाई विराटनगरमा कालो झन्डा
विराटनगरको उखुबारीमा युवकको शव : घरमै आएर हत्याको धम्की, तीन दिनपछि मृत फेला
उद्योगमैत्री बैंकिङ प्रणाली बनाउन राष्ट्र बैंकलाई भीम घिमिरेका १० बुँदे सुझाव
उदयपुरका इन्स्पेक्टर अस्वीन तोलांगे सर्वोत्कृष्ट प्रहरी घोषित
नेपालगञ्जमा रगत अभाव, दैनिक ८० पिन्टसम्म माग
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.